कथामा फर्कनुहोस्

कथा · २०२६ सेप्टेम्बर ४

झोलुङ्गे पुलमा तिमी र म

Nepali Love Story

फेरी एकपल्ट तिम्रो समीप बसेर तिम्रा आँखा नियाल्न मन छ, फेरी तिम्रो मुस्कानमा फुलिरहेको सुन्दरता हेर्न मन छ, फेरी एक पल्ट माया गाँस्न मन छ, सपना साट्न मन छ, फेरी एकपल्ट आँफैले आफुलाई बिर्सन मन छ । तर बिडम्बना आफैलाई बिर्सन तिमीले मलाई सम्झन जरुरी छ । बतासमा तिमी यसै बिलाएकी भए या एकाएक कतै हराएकी भए म सम्झनाहरूसँग समय बिताउन बाध्य हुन्थेँ । तर लाग्छ यतै कतै छौ तिमी , तिमीले मबाट बनाएको दुरी भन्दा नजिक, मेरै छेउछाउ । आमा आउने आसमा गुँडमा बसेको बचेरा जस्तो छ माया । म तिमीलाइ पर्खीरहेको छु प्रेमको आहारा लिएर आउँनेछौ भनी ।


कोही बेला अचम्ममा पर्छु, तिम्रो सम्झनाले मेरो कल्पना बिथोलेको देखेर । जब जब तिम्रो बारेमा सोच्छु म हामीलाई एकदमै ठूला, दुई पहाडबिच कुनै झोलुङ्गे पुलमा पाउँछु । तिमी पुलको बीच सम्म पुगिसकेकी हुन्छौ, म वल्लो कुनामा उँभीएर तिमीलाई हेरीरहेको हुन्छु । ठूलो स्वरमा कराइरहेको हुन्छु पर्ख म पनि सँगै आउँछु भन्दै, मेरो बोलीको प्रतिध्वनि पहाडमा ठोक्कीएर फेरी मेरै कानमा ठोक्कीरहेको हुन्छ । त्यत्रो ठूलो आवाज पनि तिमी सुनिरहेकी हुन्नौ । पुल सुस्तरी हल्लीरहेको हुन्छ, तल खोला सुसाइरहेको हुन्छ । पहाड पछाडि घाम छलिएर, समयले साँझ बोलाइरहेको हुन्छ ।


तिमी बिचमा पुगेर रोकिन्छौ, मलाई मायालु नजरले हेर्छौ , म तिमीलाई आँखालेनै बिश्वास दिलाउँन खोज्छु, आउँदैछु भनेर । तिमी हात देखाएर नआउ भनिरहेकी हुन्छौ , तिम्रो हाउभाउमा डर देखिएको हुन्छ , लाग्छ तिमी भन्न खोजिरहेकी छौ, पुल हल्लीरहेको छ , दुई जना बीचमा भयौँ भने पुल खस्छ । डराएको तिमीलाई झन डर लाग्ला भनेर म रोक्किन्छु । मन दुःखी भइरहेको हुन्छ डरमा तिम्रो साथी बन्न नपाएकोमा ।


तिमीलाई सम्झाइरहेको हुन्छु, पुलको स्वभाबनै हल्लने हो , हामीले हाम्रो सन्तुलन मिलाउँन जान्नुपर्छ भन्दै तै पनि किन हो अबुज बालकझै हात हल्लाइहरन्छौ नआउ यता भन्दै । मन मान्दैन तिमीलाई एक्लो छाड्न, पुल पारी भएकी भए पनि हो भनौ तर बीचमा , त्यो पनि डराएको बेला कसरी छाडौ तिमीलाई ? तिम्रा कामीरहेका हात समाएर भन्न मन हुन्छ , म आएँ सबै ठिक हुन्छ भनेर तर तिमी बिरामीले औषधीलाई नाइ भनेझै नकारिरहेकी हुन्छौ मलाई ।


दुरी साच्चै नमिठो कुरा रहेछ भनेर महशुस हुन्छ मलाई त्यो पुल छेउबाट तिमीलाई हेर्दा । सोच्छु, धेरै बेर तिमी त्यहाँ डराएर बस्नेछैनौ , एक पल त तिमीले कि यता की उता जानै पर्छ । मान्छेलाई केहीबेर डरले खाएपछि मान्छेले डरलाई खान्छ, यो कुरा राम्ररी बुझेको छु मैले । यता आउँने भए आउँ म तिमीलाई पखीरहेको हुन्छु , पर जाने भए केही बेर आँखा चिम्म गरेर मलाई बिश्वास गर म बिस्तारै आउँनेछु, तिम्रो हात समाउँनेछु अनि हामी साथसाथै पुल पार गर्नेछौँ , बस तिमी एक्लै पर नजाउँ, म यता एक्लै हुन्छु भन्दै कराइरहेको हुन्छु। तिमीलाई बिश्वास दिलाउँन खोजिरहेको हुन्छु कि हामीले एकैसाथ पुल पार गर्न सम्भव छ भनेर । घाम डुब्दै जान्छ तिमी धमिलाे धमिलाे बन्दै जान्छौ, म आँखा मिच्न थाल्छु, त्यतीकैमा कल्पना, रील अड्केको क्यासेट जस्तो अड्कन्छ , अनि फेरी यथार्थमा आइ बज्न थाल्छ ।


साँच्चै त्यो झोलुङ्गे पुलझै हल्लीरहेको छ हाम्रो माया , हो यो साँचो हो, कि सबैको मायाप्रेम त्यसरीनै हल्लन्छन, प्रेमीले सन्तुलन मिलाउँन जान्नुपर्छ । कसरी सम्झाउँ तिमीलाई हाम्रो प्रेमको सन्तुलन मिलाउँने जिम्मा हाम्रै हातमा छ भनी । तिमी सम्म त मेरो आवाज पनि पुग्दैन । तर जहाँ छौ तिमीले एक पल्ट आँखा चिम्लेर मलाई सम्झन र बिश्वास गर्न जरुरी छ अनि यो बतास यो मौसम यो धर्ती सबैले तिमीलाई म सम्म र मलाई तिमी सम्म डोर्याउँनेछ ।


विजय लुइटेल