कवितामा फर्कनुहोस्

कविता · २०२३ अक्टोबर १७

सम्झनामा दशैं

हातको छालै पिल्सँदा पनि
उडाइदिन्थेँ आकाश तिर खबर
इन्द्र यस साललाई पानी पुग्यो लेखेर
मेरो दुई धर्के चङ्गामा


देखे होलान् सायद उनले
उडी आएको मन स्वर्गतिर
सोधे होलान् खबर उनले
कस्तो छ त्यहाँ भुलोक तिर


मलाई मन उडाएको याद छ
आकाशलाई घर बनाएको याद छ
चरीलाई गिज्याउँदै उडानले
मनैमन रमाएको याद छ


याद छ, केवल याद मात्र छ
बालाई धागो किनिदिन घुर्क्याएको
साथीलाई टी गरिदिन फुर्काएको


याद छ, केवल याद मात्र छ
दिन जो बतासको पर्खाइमा गुज्रन्थे
खुसी जो लट्टाइको घुमाइमा हुर्कन्थे


याद छ, केवल याद मात्र छ
थोरैमा रम्ने उमेर बोकी
चङ्गा छोप्न कुदेको
आकाशलाई जिते मैले भनी
आफ्नै अहम भित्र लुकेको


याद छ अब केवल याद मात्र छ ।

- विजय लुइटेल