गाउँलाई दशैंको किनमेल गराएर
सबैको आवश्यकता पुर्याएर
हरेकमाल आफ्नै बाटो लाग्यो
दिउँसोमास बज्ने प्लास्टिकको डमरु
र आँगनमा टेक्ने डोकोको डोबलाई
सायद परिवर्तनले बोलायो
फेरि फर्किएर आएन
उमेरको बुई चड्दै गर्दा
वर्षौ पछि एकदिन
ओठमाथि बाक्लो जुँगा बोकेर
दाजुले मेरो काँध थपथपायो
हेर त , तेरो हरेकमाल फर्की आयो
आवश्यकता बोकेर छायाँ जसरी
मेरो निजी हरेकमाल
त्यसै कालबाट मसँग हिँड्न थाल्यो
एउटै कोख
एउटै काख
एउटै कोक्रो
थाहा छैन दाजु , कहिले दाजु भयो
सायद
आमाको हस्ताक्षर चोरेर मेरो स्कूल डायरी साइन गर्दा
मेरो गल्तीमा अब गर्दैन भन्दै कसम खाइरहँदा
बाहाना बनाउँदै बा बाट मेरो चकचक लुकाइरहँदा
वा भाइलाई होस् भनेर इच्छाहरूसँग सम्झौता गर्दा
थाकेको छैन , पूर्णता खोज्दै अझै ऊ
तिरिरहेछ दाजु हुनुको किस्ताबन्दी
एक संयोग ,
परिवर्तनले मेरो दाजुलाई पनि अंगाल्यो
मेरो छायाँ, एकाएक परदेश तिर लाग्यो
अचेल दशैं उस्तो आउँदैन
टिकाको रंग फिक्का लाग्छ
निधारको मन साघुरिन्छ
शिरमा एउटा आत्मीय हात चल्दैन
आशीर्वादलाई आफु अपुरो लाग्छ
नयाँ वस्त्र छँदैछन् शरीरमा
तैपनि दाजुको दराज चियाउँछु
एक जोर दाजु शरीरलाई भिराएर
म घामलाई अनुहार देखाउँछु
एउटा परिचित छायाँ जमीनमा चल्मलाउँछ
म त्यसलाई प्रश्न गर्छु
दाजु , के तेरो छायाँमा पनि
कोहि हरेकमाल आउँछ ?
के तँलाई पनि कसैले बेलाबखत
प्लास्टिकको डमरु सुनाउँछ ?

