लेख्नकै लागि जन्मिएको एक लेखक
बाच्नु पर्ने त लेखेरै हो
तर ऊ लेखेकै कारण पल पल मर्दछ
लेख्नकै लागि उदासी पाल्नु पर्छ उसले
ताकी कसैले उसलाई उदासी मागे
तत्काल दिन सकोस् केही पङ्गति
मन नहुँदा नहुँदै उसले हाँस्न सिक्नु पर्छ
ताकी कसैले उसलाई खुसी मागे
तत्काल दिन सकोस् केहि हरफ
प्रेम, घृणा, स्वार्थ, मोह सबै पाल्नु पर्छ उसले
ताकी कसैले उसलाई मागे ति भावना
तत्काल दिन सकोस् केही वाक्य
घरमा दिन रात सबैलाई स्यहार्ने आमालाई
धन्यवाद नभनि सबैले प्रयोग गरेझै
उसका भावना यहाँ प्रयोग भएका सन्
व्यपारी भएको भए सायद उसले
आफ्ना भावनाहरुको मोल तोक्थ्यो
तर उसले कहिले बेच्न सिकेन
आफ्नो मुल्य तोक्न उसलाई रहर जागेन
बेच्न नजानेकै कारण आज
ऊ आफै सित्तैमा बिकीरहेको छ
ऊ भन्न सक्दैन मेरा लागि एकैछिनको काम हैन रचना
मेरो जीवन, उमेर र अनुभव निचोरिन्छ मैले कलम छुँदा
म निचोरिन्छु !!!!
ऊ भन्न सक्दैन
उखु निचोरेरै यहाँ मानिस बाँचेका छन्
आफैलाई निचोर्दा पनि म किन मरुँ ?
ऊ भन्न सक्दैन
लेखकका जुस सित्तैमा पिउने ए भावनाका व्यापारी
चेतना बेच्छु भन्दै वकालत गर्ने तिमीलाई
लेख बाँच्नका लागि लेखक बाँच्न पर्छ भन्ने कुराको चेतना छैन ?
के साँच्चै तिमीलाई
तिम्रो व्यापार बाँच्नका लागि
व्यापार गर्नै नजान्ने पनि बाँच्नु पर्छ भन्ने कुराको चेतना छैन ?
के चेतना बेच्छौ तिमी ?
