कवितामा फर्कनुहोस्

कविता · २०२३ डिसेम्बर ३१

यात्रारत

यात्रारत

समयले चोर्‍यो यात्रीको चोला यात्रीले आत्मसमर्पण गरिदियो

समयले बिछ्याइदियो बाटोमा आकाश

धर्तीलाई पछि लगाइदियो


सोच्छ यात्री , म जाउँ कता अब

सबथोक यतै पुगे पछि

बोक्छ एक मुठ्ठी माटो बगलीमा

मिल्नु यतै छ भनी


गन्तव्य आकाश छ

गर्भिणी समयको कोखमा

उत्सवको उन्माद छ

मृत्युको जन्त भोजमा


हेर हेर यात्री

छौ तिमी पनि

लाममा लागेको

हेर हेर यात्री

छौ तिमी पनि

बेकाममा भागेको


अडिदेउ केही बेर यात्री

काललाई आराम देउ

बिसाउ कान छातीमा

घड्कनलाई श्रवण गरिदेउ


चोर समयको देहलाई अब

निजी रङ्गले रङ्गाउनु छ

बदलिरहने देहमा उसको

नमेटिने छाप लगाउनु छ


- विजय लुइटेल