कवितामा फर्कनुहोस्

कविता · २०२६ अगस्ट ३०

एक प्रेमील बिहानी

The Poet Idol Season 2

कानमा साउती , आँखामा तस्बिर

मनमा चपलता ब्युँझेछ

मसँग आज अनौठा रहर ब्युँझेछन्

कल्पनामै सही

आकाशलाई बीचबाट चिर्छु

बिस्कुट जस्तो गोलो सूर्यलाई

प्याट्ट आधा भाँच्छु

बग्दो खोलालाई बाटैमा थुनिदिएर

आधा हुनुको रमिता हेर्छु

छुट्टिँदा के छुटी जान्छ ?

के छुट्दा साच्चिकै छुटिनु लाग्छ ?

कसेको मुट्ठीबाट वालुवा स्वतः छुट्नुको सत्यलाई

सायद प्रेम पनि उत्तिकै मान्छ

उस्तै होला हिजो साँझ बसेको फिल्महलको कुर्सी

अझै मगमगाउदै होला आर्मरेस्टमा तिम्रो हत्केला

हेडरेस्टमा छुटेका तिम्रा केशहरु

उज्यालो खोज्दै होलान् अझै

हलभित्रै थुनिएको होला

डराउँदै हात समाउदाको लामो सुस्केरा

पसिना आउँदा आउँदै पनि हात नछुट्नु

जुध्न मन हुँदा हुँदै पनि आँखा नजुध्नु

असहजताले रोक्दा, चुम्बन ओठमै गाँठो पर्नु

लाज समान हुनु , हिम्मत हिचकिचाउनु

प्रेमकै नतिजा त होला

सम्झना सम्झनाहरूकै सम्झनामा भाग्छ

के लाई लखेटु, के लाई समेटु ?

यस बिहान चाहन्छु

स्वार्थकाे ठूलो पल्टन बोकेर

फिल्महललाई हमला गरिदिउँ

मानिसहरुको आगमन रोकेर

निजी करार गरिदिउँ

तर छुटेका कुरा छन्

जो पाएका कुरा सम्झाउँछन्

थाहै नदिई तिमीबाट चोरेको समय

रातभर मैसँग सुतेछ

हिजो राती म एकले, दुबैको निन्द्रा निदाएछु

कल्पनामै सही

म अहिले आकाश सिल्दैछु

सूर्यलाई पुनः गोलो बिस्कुट बनाउँदै

खोलालाई बगाउँदै खोलिदिएर

बिहानीलाई दिन बनाउँदै छु

प्रिय मान्छे, मेरो हाल प्रेमले बेहाल छ

थोरै सान्तवना दिनु

भाग लागेको छ छैन, बताउनु

मलाई पनि तिम्रो निन्द्राको रिपोर्टकार्ड पठाउनु

विजय लुइटेल