आमा जादूगर्नी छे
अलौकिक गणितज्ञ छे
मान्दिन साधारण हिसाब
तैपनि ज्ञानको ज्ञाता छे
गणितमा उसको, अंक छैन
निश्चित कुनै नियम छैन
सृष्टिको खेल मनले खेल्छे
जोड घटाउको गडबड छैन
एकमा एक घटाउँछे
सहजै दुई बनाउँछे
एक मात्र हुँदा फेरि
आफैंलाई आधा पाउँछे
एकमा एक जोडे पनि
फेरि ऊ एकै हुन्छे
धड्कन दुई बोकी हिँड्छे
एकै शरीरमा धड्काउँछे
गुणा गर्छे प्रेमले प्रेमलाई
पत्थरलाई पानी बनाउँछे
अर्पेर एक अंश स्वइच्छाले
ब्रह्माको बल बढाउँछे
टुक्रन्न ममता कहिले कतै
न केहिले भागा हुन्छे
मात दिन्छ कसले उसलाई
दैवको पनि दाहिना हुन्छे
उसकै गर्भमा हुर्कन्छ भविष्य
रेखा कमाउँछ हत्केलाले
उसकै गर्भमा टेक्छ पहिले
संसार नाप्ने पैतालाले
उसकै नसाले सिचिदिन्छ
विचार बाँच्ने मस्तिष्कलाई
काल जन्मन्छ उसैबाट
उमेर दिन्छे मानवतालाई
नाफा घाटा हेक्का छैन
बाँड्नु मात्र कर्म ठान्छे
अविरल बग्छे सदा ऊ
न कहिल्यै रित्तिन जान्दछे
शब्दमा नआट्ने , सूत्रले नबाँध्ने
जादूयी हिसाब उसैलाई आउँछ
हाँस्दै गाउँदै जीवनले उसको
गणितको नौलो सिद्धान्त गाउँछ
आमा साच्चै जादूगर्नी छे
अलौकिक एक गणितज्ञ छे

