कवितामा फर्कनुहोस्

कविता · २०२३ अक्टोबर ३

आफैंमा डुब्नु छ । Rara Lake Poem

आफैंमा डुब्नु छ । Rara Lake Poem

छाल यसरी फैलन्छ मानौं आकाश भइदिन्छ 

म यसरी बिख्रन्छु आफैँ नभई हराई दिन्छु


एक थोपा आशा 

हलचल गराइदिन्छ स्वप्न

एक मिठो बतास 

अन्तस्करण भिजाइदिन्छ


म लजाउँछु भावनाको उन्माद देखी

अस्तित्वलाई स्वीकार्न डराउँछु 

बतासिन्छु विचारका बहावमा 

जीवनलाई सतही स्वीकार्दछु


यो ताल जो यति सुन्दर छ 

के यो पनि डराउँछ आफैसँग ? 

कि छाल देखेर, आफैँसँग लजाउँछ ?


म देख्दछु 

विचलित भएर पनि अविचलित

एक सूक्ष्म अनुभूति छ 

यो चञ्चलतामा ...


जीवनका अर्थ जहाँ आह्लादित छन्


तालझैँ मैले पनि अब 

आफैमा डुब्न सिक्नु छ ...

-विजय लुइटेल