कवितामा फर्कनुहोस्

कविता · २०२६ अगस्ट ३०

आँगनको गर्त

The Poet idol Season 2

धुम्मिएको दिन बादलले आफूलाई आकाश ठान्छ

पानी दर्किएको दिन धर्तीले आफूलाई समुन्द्र

जसले अहम् को अग्निमा चरु चढाउँछ

उपलब्धि नै त हो त्यो

तर अग्नि के अग्नि

जो सानै बतासले निभी जान्छ

बादल के बादल

क्षणभरमै जो बर्सि जान्छ

समुन्द्र के समुन्द्र

दिन नढल्दै जो सुकी जान्छ

बा तिमी आकाश हौ , धुम्मिएकाे दिनको

तिम्रो छातीमा अनुभवका तक्मा लागेका छन्

हजारौं बादलले बास मागेका छन्

म समुन्द्र हुँ, पानी दर्किएको दिनको

मेरो आर्त भर्खर भिजेको छ

जीवनले उद्देश्य बल्ल भिरेको छ

मैले हाँस्न कहिलेकाँहि तिमीले रुनै पर्छ

तिमीलाई ऐना देखाउन , मैले समुन्द्र हुनै पर्छ

कहिल्यै थुत्दैन बचेराले जिब्रो

चारो खुवाउने चरीको

कहिल्यै टेक्दैन ढाडमा गाईले

उभिन खोज्ने बाछोको

जान्दा जान्दै पनि सब सत्य यो

चेतना हाम्रो किन बीमार भो ?

विचारलाई ज्यालामा लगाएर

दुबैले उमेरभर खनेको

प्रेमलाई छुट्टीमा पठाएर

अहम् ले लिपपोत गरेको

दुबैको छाती भन्दा ठूलो

हाम्रो आँगनमा एउटा फराकिलो गर्त छ बा ।

तिमी छोरा भन्छौ

म धम्की सुन्छु

म बा भन्छु

तिमी अर्ती सुन्छु

गर्तको प्रतिध्वनि हेर, कस्तो विचित्रको

घरको अस्तित्व, बिस्तारै आँगनले खाँदैछ

आँगनको अस्तित्व पनि घरमै बिलाई जाँदैछ

खन्दा खन्दै गर्त अब , आँगनमै घर पुरिने भो

बा , यो के पाउने लालसा हाम्रो ?

अहम्, कति सम्मको मात्र राम्रो?

विजय लुइटेल