कवितामा फर्कनुहोस्

कविता · २०२२ सेप्टेम्बर १७

अपहरण गरेका छन् मोबाइलले आँखाहरु

अपहरण गरेका छन् मोबाइलले आँखाहरु

अपहरण गरेका छन् मोबाइलले आँखाहरु

आँखामा आउने सपना पनि हरेका छन्


बाका आँखा राजनितिको समाचारमा डुबे

आमाका आँखा टिकटकले समाएका छन्

दाजु भाउजु, मामा माइजु, काका काकी

आँखा हराएकाले आँफै हराएका छन्


हेर्छु जसै ती जीवन हराएका आँखालाई

जीवन खोज्ने चाहना जागेर आउँछ


कहाँ होला त्यो संसार ?

जहाँ आँखाहरु अरुभित्र नभइ आफु भित्र हेर्छन्

जहाँ आँखाहरु यथार्थ र भ्रमको फरक चिन्छन्

कहाँ होला त्यो संसार ?

जहाँ बाटो देखिन्न भनि आँखा, ननिउरिउँ भन्छन्

जहाँ खुल्ला हुँदा आँखा, चेतना जागा बस्छन्


कल्पनानै सहि जब त्यो संसार खोज्न हिँड्छु

संसार मलाई सम्झाँउन थाल्छ

भन्छ, कल्पनाको संसार तेरो, बिगतमै बितेको छ

लास माथि त्यसैको बर्तमान उम्रेको छ

संसार देख्न अबकाले न्युरन पर्छ


जब सुन्छु यस्ता कुरा संसारका

एकाएक मलाई उल्टो उम्रन रहर जाग्छ

कोपिलाबाट फेरि बिउ भइदिउँ लाग्छ

उल्टो उम्रनु, साँच्चै उम्रनु लाग्छ


न्युरिएकाले होला सायद, म भविष्य देख्न असक्षम छु

न त चाहेरै म बर्तमान देख्न सक्छु

वर्तमान र भविष्य, दुबैलाई अपहरण गरेको छ मोबाइलले

आँखा पनि थाहा नदिइ खोस्दैछ


नमरिकनै मर्छु कि भनि डर लाग्छ अचेल

रातभर त्यही आवाजले लखेटी रहन्छ


त्यसैले मलाई अब उल्टो उम्रनु छ

मलाई बचाउनु छ मेरो आँखाको चेतना

ताकी म जिउँदो रहँदै जिउन सकुँ

मलाई बचाउनु छ मभित्र मर्दै गरेको जीवन

ताकी म उसलाई, बाँच्नुको मज्जा चखाउन सकुँ

- बिजय लुईटेल