We curate our lives around this perceived sense of perfection because we get rewarded in these short term signals: hearts, likes, thumbs up and we conflate that with value and we conflate it with truth. And instead, what it is is fake brittle popularity that’s short term and that leaves you even more, and admit it, vacant and empty before you did it. Because that enforces you into a vicious cycle where you’re like what’s the next thing that I need to do now, because I need it back. Think about that compounded by two billion people and then think about how then people react to to the perceptions of others.” — Chamath Palihapitiya, CEO of Social Capital
बिगतका केहि समय देखि एउटा चीज खाइरहेछ मनलाई । पर्याप्त समय भएता पनि समय नहुनुको ननिकोपनले । समय आखिर खाँदैछ के ले ? यसको उत्तर खोज्न मैले दैनिकीलाई केरकार गरेँ । सबेर ५ बजे उठेर म हिँङ्न भनि बाहिर निस्कन्छु । माघ महिना भएकाले अहिले त्यो बेलुकालाई सरेको छ । तसर्थ अहिले ६ बजे उठ्छु । मोबाइलमा अलार्म बज्छ । एकछिन अलार्म बजेको मोबाइलमा घोतलिन्छु । तर त्यो एकैछिन लामो भएर ८ बजेको सम्म चेतनाले पत्तो पाउँदैन । सोच्छु, मैले एका बिहानै के हेरेँ जसले मेरो २ घण्टा समय ढुस पारिदियो ? उत्तर याद आउँदैन । साला मेरो चेतना केहि बेर अघि हेरेको कुरालाई स्मरण गर्न असमर्थ भइदिन्छ । सायद चेतना बिमारी छ । म सम्झन्छु सालौँ अगाडि स्कुल जाँदा मलाई मेरो साथीले भनेका कुराहरु । म सँग ति सम्झना अझै ताजै छन् तर केहि पल अघि जे देखेँ त्यसको बोध भने पटक्कै छैन । कतै पढेको थिएँ prolonged exposure to social media might affect memory formation and recall abilities. यहाँ आएर कतै त्यसै पो भयो कि भन्ने लाग्छ । पछिल्लो समय मलाई मानिसहरुको नाम सम्झन कठिन भइरहेको छ । बाटामा भेटेका अथवा कुनै कार्यक्रममा भेटेका मानिसका नाम म बिर्सन्न तर सामाजिक सञ्जाल जोडिएका एकाध बार कुराकानी भएका मुहारहरु नामबिहिन छन् मेरो चेतनामा । कहिले काँहि लाग्छ संसार यतै छ मोबाइलको पर्दामा तर धोरिएर हेर्छु त्यसको नामोनिसान भेट्दिन । समयको सितन खानलाई यी सामाजिक सञ्जालले बिभिन्न प्रपञ्च रचेका छन् र म पनि त्यसकै सिकार भएको छु । मलाई कति पनि लाज छैन म सामाजिक सञ्जालको अम्मली भएको छु भन्नमा ।
केहि समय अघिको कुरा हो । कोभिड ताकाको । सबैले घरबाट बाहिर ननिस्की केवल सामाजिक सञ्जालमै समय बिताए । मैले त्यस बेला एउटा अनौठो निर्णय लिएँ । सबै सामाजिक सञ्जाल पूर्ण रुपले डिलिट गरेर बस्ने । फाइदा के भयो भने । लामो समय देखि पढ्न मन भएको महाभारत करीब ९ दिनमा पढेर सकियो । त्यसै ताका म नेपाल एड्थ वन्डर मेडियाका लागि भिडियो सक्रिप्ट पनि लेखिरहेथेँ । मोबाइल हातमा हुँदा तीन दिन लाग्ने त्यो काम मैले १० घण्टामा गरि भ्याएँ । त्यस समय मलाई आभाष भयो कि म सँग समयको कमी छैन म सँग लगाबको कमी छ । केहि दिन अघि नेटफ्लिक्स को फिल्म द सोसल डिल्लेमा हेरेँ । जहाँ सामाजिक सञ्जालले जीवनलाई कति असर गर्दछ भन्ने कुराका बारे फेसबुक गुगल र इन्सटाग्राम लगायतका सामाजिक सञ्जालसँग आबद्ध भइ काम गरेका केहि मानिसहरुको भनाइ थियो कि सामाजिक सञ्जालले मानवता माथि पाप गरिरहेको छ ।
एक बर्ष अघिको कुरा हो । म कलेज पढाउन भनि नेपालको जानिएकै एउटा प्लसटु कलेजमा पुगेँ । टुरिजम पढाउन त्यहाँ पुगेको मैले बिद्यार्थीहरुलाई सोधेँ । तपाईहरु कलेज सकिएपछि के गर्नु हुन्छ ? लगभग धेरैको जवाफ थियो घर पुगेर मोबाइल चलाउने त हो सर । त्यस क्षण मैले आफ्नो कलेजको दिन सम्झेँ । त्यस समय म जीवन्त थिए । कलेजको गाडीमा मेरो मुहार मोबाइलमा न्युरिएको हुँदैनथ्यो । म आफु वर परको जीवनलाई अलिक मज्जाले नियाल्न सक्थेँ । कलेजका विद्यार्थीको कुरा सुनेर मैले सोचेँ उनीहरुले जीवनलाई चाहिने सीप कुन समयमा सिक्छन् । सबै समय त मोबाइललेनै खाइदिन्छ ।
भन्दा अलिक कस्तो कस्तो लाग्छ तर मैले देखेको छु नेपाली पढ्न नजान्ने Influencers । मलाई त नेपाली पढ्नै आउँदैन भनेर गर्व साथ भनिहिँड्छन् । सामाजीक सञ्जाल चलाउने समयको केवल आधा घण्टामा दिनमा नेपाली पढ्नु भने सायद तिनले नेपाली पढ्न सिक्ने थिए । म त्यसरीनै आफुलाई पनि हेर्छु । मैले के गरिरहेको छु । के मैले यिनै सञ्जालमा हेर्ने कुराले मेरो भविष्य उज्जवल बनाउँछ ? न मलाई कतै पुर्याउँछ । म मान्छु कि मलाई यसले परिचीत बनाएको छ र केहि मानिसहरुको नजरमा पर्न म यसै मार्फत सफल भएको छु । तर यसरी तरुनीहरुको शरीर , सेलिब्रेटीको गसिप , चाइनाको कुनै गाउँमा मानिसले बनाएको बाँसको भाँडा कुँडा, फ्याक्ट्रीमा चिप्स प्याकिङ लगायतका भिडियो हेरेर मलाई फाइदा के हुन्छ ? म यस्को उत्तर कतै भेट्दिन ।
मानिस आफ्नो असफलताले भन्दा अरुको सफलताले धेरै बिचलीत हुने गर्दछ । यो हरेक मानिसभित्र रहेको एक सत्य हो । यसलाई बढावा दिन, मानिसमा असन्तुष्टि निम्त्याउन सामाजिक सञ्जालको ठूलो जालो हाम्रो वरिपरी छ । हामी त्यसलाई देखेर पनि देख्न सक्दैनौँ । हाम्रो जीवन संसारका सबै मानिस भन्दा पृथक छ र आफ्नो त्यो पृथक व्यक्तित्वको खोज गर्नु नै मानव जीवनको उद्देश्य हो । छोटो रुपमा भन्दा आफु हुनु जीवनको उद्देश्य हो तर यस उद्देश्यबाट यो नयाँ पु्स्ता बिभुख छ । यसमा म स्वयं आफैलाई पनि गन्दछु ।जामा साइक्रिएट्रीले गरेको एक अनुसन्धान बताउँछ कि दिनको ३ घण्टा भन्दा बढी सामाजिक सञ्जाल चलाउने टिनएजर्समा ६० प्रतिशतलाई मानसिक रोग र डिप्रेसनको खतरा हुन्छ र दिनको ५ घण्टा चलाउनेहरुको ७८ प्रतिशतलाई मानसिक रोग र डिप्रेसनको खतरा हुन्छ ।
मोबाइल चलाइरहने मानिसलाई लाग्न सक्छ दिनको एकाध घण्टा मोबाइल चलाएर के भयो र । मलाई पनि पहिले यस्तै लाग्थ्यो । तर अहिले लाग्दैन । मैले के गुमाए म यहाँ खुलेर व्यक्त गर्न चाहन्छु ।
- दिनको कम्तीमा ४ घण्टाको हिसाबले महिनाको १२० घण्टा र बर्षको १४४० अर्थात बर्षको ६० दिन म सामाजिक सञ्जाल चलाएर बिताउँछु ।
- फेुबुकमा १७०० साथी र इन्टाग्राममा ७०० फलोअर्स छन् जो जोडिएका छन् मसँग । जसलाई मेरो जीवको यो पाटो जुन यहाँ व्यक्त गर्दैछु त्यसको कुनै ज्ञान छैन ।( यो गुनासो हैन आत्मबोध हो )
- मेरो चेतना सधै धेरै भन्दा धेरै जानकारीहरुको भारले थिचिएको छ । केपी ओलीले कुन रंगको छाता ओडे जस्ता समाचारले मलाई के फाइदा दिन्छ ? अनमोल केसीले के गर्न जाँदा कस्तो गाडी चढ्छ मलाई के मतलब तर म त्यसमै हराइरहेको हुन्छु । थाहै हुँदैन हराएको ।
- यौन उमेरको आवस्यकता हो तर सामाजिक सञ्जालमा आइदिने अनेक सेक्सुएल टपिकले बेला न कुवेला यौन चाहना बढाइदिन्छ । नोरा फतेहीको नितम्ब मलाई पनि मनपर्छ । यो अप्राकृतिक हो । सबै कुराको समय हुन्छ । यौन को पनि ।
- एकाग्रताको कमी । मोबाइल को नोटिफिकेसन अफ भए पनि बजिरहेझै लागेर मोबाइल उठाउने बानी । एउटा आम मानिसले दिनमा ५८ पटक आफ्नो मोबाइल चेक गर्छ अरे । म आम मानिस हुँ ।
- परिवारको सबै सदस्यको हातमा मोबाइल छ । सबै निहुरेर त्यतै मात्र हेर्दछन् । खाना खाने बेला समेत भिडियो कल भइरहेको हुन्छ । मानिसहरुसँग अचेल अर्थपूर्ण संवाद बिरलै हुन्छ ।
द सोसल डिलेमाले मेरो आँखा खोलिदियो । उक्त फिल्म भित्र एउटा अनौठो सत्यलाई उजागर गरिएको छ । पत्रिका मैले पढे पनि अरुले पढे पनि त्यहाँ भित्रको विषय एकै हुन्छ । पत्रिका ब्यवसायीले हरेक मानिसको लागि भनेर छुट्टै पत्रिका निकाल्दैनन् तर फेसबुकलाई हेरौँ त हरेक मानिसको वाल मा फरक फरक कुराहरु छन् । यसको अर्थ के हुन जान्छ भने फेसबुकलाई तपाई हामीले के कुरा हेर्न बढी रुचाउँछौँ भन्ने कुराको ज्ञान छ र उसले त्यस्तै कन्टेन्टको सहायताले हामीलाई बाँधिराख्दछ र हामीबाट फाइदा लिन्छ । हामीलाई बिज्ञापन बेच्छ र पैसा कमाउँछ ।
फिल्ममा अर्को एउटा भनाइ छ If you get something for free, You are the product. अहिले म यस कुरालाई मनन गरिरहेको छु । सामाजिक सञ्जालले नराम्रो मात्र गरेको छ भनेर म भन्दिन । कति मानिसले यसबाट व्यपार गरेका छन् जीवन चलाएका छन् । केहिलाई यसले फाइदै दिएको छ । तर यसरी नयाँ सामानहरुको ब्यापार गर्नेले राम्रा राम्रा भिडियो बनाएर सामान राखेपछि हामीले हामीलाई आवश्यकता नभएका कति सामान किनेका छौँ ? म कहिले काँहि यसरी पनि सोच्ने गर्दछु ।
पछिल्लो समय मैले एकाग्र भएर लेखेको यही एउटा लेख हो । अरु लेख लेख्दा मोबाइल साथै हुन्थ्यो । कहिले त्यहाँ अल्मलिन्थे अनि एक दुई घण्टा बितेको पत्तो हुँदैन थियो । आज जे होस् खुलेर लेखेको छु । मोबाइलले बेला बेला बोलाएर दु:ख दिएको छैन । सबै एप मोबाइलबाट उडाइदिएको छु । नोटिफिकेसन बन्द छ , म मस्त छु । द सोसल डिलेमाकै कुरा हो । भनिएको छ साइकल पनि एउटा मानव जीवनलाई सहज बनाउन गरिएको आविश्कारनै हो तर त्यो कुनामा बस्छ र कहिल्यै मानिसलाई बोलाइरहँदैन । मानिसलाई जब मन हुन्छ उसले त्यसलाई निकाल्छ र यात्रामा निस्कन्छ । तर मोबाइल मानिसलाई नजिक आइज भन्दै हरपल बोलाइरहन्छ । मलाई याद छैन पछिल्लो समय मैले कुन गीतलाई मज्जाले सुनेँ । कति ध्यान दिएर कुनै किताब पढेँ । गीतारमा स्वर लगाएर मनबाट नगुनगुनाएको कत्ति भयो । सबैथोक हातमा हुँदा पनि सबैथोक कसरी हातबाट फुत्कन्छ भन्ने कुराको बोध अहिले भएको छ मोबाइलसँगको सहवासले । तर अब म त्यो हुन दिने छैन । म अब मोबाइललाई सुनिदिन छोड्ने वाला छु । मेरो लागि मोबाइल आजबाट एउटा सहयोगी आविष्कारका रुपमा मात्र सिमित रहनेछ । म अब त्यसलाई जीवन मान्ने छैन ।
यो लगायत बिभिन्न कुराहरु छन् जसले सामाजिक सञ्जालको यो भागदौडमा जीवन कतै छुटिरहेको आभाष दिलाउँछ । म पेसाले एक यात्रा लेखक हुँ । हाल फ्रिल्यान्सर । मलाई लाग्छ म यात्रामा जाँदा बढी जीवन्त हुन्छु । यात्रामा सबै कुरा बिस्तारै चलिरहेको आभाष हुन्छ । खोला कहिल्यै हतार गरेर बग्दैन सधै उही लयमा बग्दछ । त्यसैले सोच्न बाध्य बनाउँछ कि सामाजिक सञ्जाल हतारको एउटा ठूलो खाडल हो । यहाँ मानिससँग समय त छ तर समयनै छैन । यो हतारमा एकै पटक १०० मानिसको जीवनमा के चलिरहेछ त्यसको खबर मानिसले पाउँछ । उसको जीवन एकाएक उसलाई कछुवा लाग्दछ । मानिस अरुको जीवनलाई हेर्दा हेर्दै आफ्नो जीवनलाई बिर्सन पुग्दछ । यो लेख फेसबुकमा पोस्ट्याउने मेरो अन्तिम लेख हुनेछ । आफुसँग गरेको एक वाचा हो यो । जहाँ सम्म साहित्यको कुरा छ । मलाई लाग्छ साहित्यलाई पाठकले खोज्दछन् । साहित्यले पाठकलाई खोज्दैन । मेरो युट्युव च्यानल ज्युदै रहनेछ त्यहाँ मेरो काम मन पराउने मानिस बिस्तारै जोडिदै जानुअहोला । यो लेख आएको ब्लग पनि जीवित नै रहनेछ । फेसबुक पनि रहन्छ तर म त्यसलाई र इन्टाग्रामलाई कुनै चुरोटको लतीले चुरोटेहरुकै बीच रहेर चुरोट छोडेझैँ छोड्न चाहन्छु । त्यसरी छोड्दा भविष्यमा यसको तलतल लाग्नेछैन ।
अन्त्यमा इडवार्ड टुफटेको एउटा भनाइ :
“There are only two industries that call their customers “users”: illegal drugs and software.”
पहिलो दिन : सपनामा मोबाइल

हिजो माघ २ २०८० साल मैले फेसबुक र इन्सटाग्रामबाट बिदा लिने निर्णय गरेँ । अर्को निर्णय भने बिहान उठेर एक घण्टा र राती सुत्नु एक घण्टा अघि मोबाइल नचलाउने थियो । एक दिन पुरा भयो । मलाई मोबाइलको तलतल लागेको छैन । तर राती एउटा अनौठो घट्ना भने घट्यो । रुघा मर्कीले सताएकाले हिजो बेलुका साढे सात बजेनै मोबाइललाई पर राखेर म ओछ्यानमा पल्टिएँ । सानै देखि ओछ्यान देख्ने बित्तिकै निदाउने म छिटो निदाउनु स्वभाविक थियो । निदाएँ पनि ।
राती म मोबाइल चलाइरहेको रहेछु । हातमा मोबाइल थियो अनि म बिस्तारै मोबाइल स्किनमा स्क्रोल गर्दै थिएँ । केहि बेर मोबाइल चलाएपछि मलाई अल्छि लाग्यो । मोबाइलको स्क्रीनमा के थियो दुरुस्त याद छैन । त्यसक्षण मैले ओछ्यानमै कोल्टे फेरेँ । एकाएक मेरो निद्रा खुल्यो । मैले खाटको छेउमा हुने मोबाइल सम्म हात पुर्याएँ तर त्यहाँ मोबाइल थिएन । बल्ल याद आयो मोबाइल त पर टेबलमा राखेको थिएँ । सुन्दा कुरा बनायो जस्तो लाग्दो हो तर यो सत्य हो मैले मोबाइल चलाएकै सपना देखेको थिएँ ।
खुसीको कुरा के भने मैले सपना नदेखेको धेरै भएको थियो । मोबाइल चलाएकै भएता पनि सपना देखेँ । सिएनएनमा प्रकाशित एक अध्ययनमा लेखिएको छ Studies have found overuse of smartphones at night to be associated with trouble falling asleep, reduced sleep duration and daytime tiredness. That’s likely because use of smartphones close to bedtime has been shown to delay circadian rhythm, the body’s normal sleep-and-wake clock. पुरै अध्ययन पढ्न यो लिङ्क मा जानुहोला ।
हातमा भएको घडी हेरे रातको एक बजेर २० मिनेट गएको थियो । उठेँ पिसाब फेर्न गएँ अनि आएर पल्टिएँ । खोकी पनि लागिरहेको थियो । निदाउन अघि सोचेँ मानिस पिसाब फेर्ने भनेर किन भन्छन् ? उत्तर थाहा छैन तर आफ्नो उत्सुक्ता देखेर खुसी भएँ । बडो रमाइलो लाग्यो । बिहान ६ बजे निद्रा खुल्यो । केहि नसोची पल्टिरहेँ । पर टेबलमा मोबाइल थियो । बोलाइरहेथ्यो । तर गइन । झ्यालको पर्दा उघारेँ अनि सोचे अब मेरो अनुभवको लेख लेख्नु पर्ला । यो अनुभव लेख त्यसरीनै जन्मियो । दोस्रो दिनको लेख म भोली पुन: लेख्नेछु । १३ दिन सम्मको लेख मेरो यो ब्लगमा आउनेछन् । हिन्दु धर्म अनुसार मानिस मरे पछि १३ दिन उसको किरिया बस्नु पर्छ । मेरो १० कक्षा देखिको साथी फेसबुक र कोनी कुन बेला देखिको इन्सटाग्रामको मृत्युको म १३ दिन जुठो बार्नेछु ।
भित्ता बोल्दछ : दोस्रो दिन

मन नलागेका कुरामा चाहिँ म अल्छी को पोको हुँ । २०१८ मा ब्याचलर्स सके लगतै मैले मास्टर्स इन रुरल डेभलप्मेन्ट सुरु गरेँ । ग्याप किन राख्नु एकै पल्ट सक्दि हाल्छु पढाइ सोचेको थिएँ । बीचमा कोभिडको महामारी आयो र केहि समयलाई पढाइ रोकिन पुग्यो । तर जे होस् जसो होस् पढाइ सकेँ । तर थेसिस थाल्न भने मलाई आज सम्म लाग्यो । मिति २०२३ जनवरी १८ । थेसिस थाल्न समय थिएन सोच्दै थिएँ । तर रहेछ । सामाजिक सञ्जाल दिने दिनको ४ घण्टा समयमा त निक्कै पो लेखिने रहेछ भन्ने आभाष भएको छ । हिजो दिनभरमा मैले Osho को The Silent Explosion ६० पेज पढेर भ्याएछु । महोमद रफीमा ३ ४ वटा भयंकर प्यारा गीत गुनगुनाएछु अनि थेसिसमा के लेख्ने भनेर त्यसको प्लान पनि बनाएछु । म पछिल्लो पल्ट यति जाँगरिलो भएको कहिले थियो मैले सोच्नै पर्छ । सबै मानिससँग एक दिनमा २४ घण्टानै समय हुन्छ । कसैले त्यती समयमा धेरै भन्दा धेरै काम गरेर देखाउँन् भने कोहि समय नपुगेको गुनासो गर्दै रुमल्ली रहन्छन् । म एकाध दिन अघि दोस्रो श्रेणीमा पर्दथेँ अहिले प्रथम श्रेणी तर्फ उन्मुख छु । म सँग अहिले प्रशस्त समय छ । समयको धन छ ।हिजो जुगनी फिल्मको गीत डुग डुगी डुग सुनेँ । विशाल भारद्वाज को आवाज, क्लिन्टन सेरेजो को सँगीत र सेलेको शब्दमा सजिएको त्यो गीतले मन हर्यो । लिङ्क यहाँ राखिदिएको छु तपाईहरु पनि सुन्नु होला फुर्सद भएमा।
फेसबुक र इन्टाग्राम चलाउने समय अब खाली भित्ता हेरेर बित्दछ । हेर्दा त भित्तामा पनि ऐना देखिने रहेछ । मलाई आफैसँगको आफ्नो सम्बन्ध प्रगाढ भएको आभाष भएको छ । भित्तामा आफ्नै पुरानो तस्बिर फ्रेम गरेर राखेको थिएँ कुनैदिन । हिजो महिनौ पछि त्यसको अस्तित्व एकाएक जीवित भएर आयो ।तस्बिर भित्र लामटाङ पदयात्रामा सुख्खा चउरमा पल्टिएर उकुलेले बजाइरहेको म छु । मुस्कुराइरहेछु । बडो सुन्दर देखिँदो रहेछु म रमाउदा । अब कोठाको गितारमा जमेको धुलो झर्नेछ, रहर पुन: जागेको छ रमाउने । यो लेख लेखिसकेर म अब एकछिन गितारलाई सुससुम्याउँछु । एक पल्ट सम्झनाहरुलाई जीवन्त तुल्याउनु छ । आज बुझेँ , बिगत वर्तमान भन्दा अधिक सुन्दर भएमा मानिसले बुझ्नु पर्छ कि म कतै न कतै चुकिरहेको छु । भित्ताको ऐनाले मलाई हिजो त्यही भनिदियो । मैले सहर्ष स्वीकारेँ । हेरौँ अब भोली के के बोल्दछन् मसँग ।
तेस्रो दिन : लत कहाँ त्यसै जान्छ र ?

लत कहाँ त्यसै जान्छ र .. त्यसको मुल्य चुकाउनु पर्छ ।
हिजो दिउसो बाहिर गएँ । मैले लेखेको छोटो फिल्म खिचिने निस्चित भयो ।आफुले मनबाट लेखेको पात्र कुनैदिन पर्दामा देखिने भएकाले मनै खुसी भयो । दिनभर फिल्म मेकर साथीहरुसँग बिताएर साँझ घर फिेरेँ । एकाएक सामाजिक सञ्जाल खोल्न मन लाग्यो । मन एकाएक एकतमासको भयो । हातका औंलाले पनि मोबाइलको स्क्रिन खोजेझैँ भयो । साह्रो पर्यो आफुलाई सम्हाल्न । मलाई यसबाहेक कुनै कुराको लत छैन त्यसैले अरु लत हुनेलाई लत छोड्न कति साह्रो पर्छ त्यसलाई म सायद राम्ररी बयान गर्न नसकुँला । तर मेरो अवस्थाको बयान गर्न म एकपल्ट प्रयास गरि हेर्छु । सुर्ती छोडेको मानिसलाई सायद तल तल लाग्दा उसको मुख बर्बराउँदो हो । चुरोट छोडेको मानिसलाई सायद सास कम भएको आभाष हुँदो हो । रक्सी छाडेकालाई रक्सी पिउन नपाउँदा सायद शरीरमा पानीको कमी भएको भान हुँदो हो । मलाई सायद हिजो डोपामिनको कमी भएको थियो ।
Social media has a reinforcing nature. Using it activates the brain’s reward center by releasing dopamine, a “feel-good chemical” linked to pleasurable activities such as sex, food, and social interaction. The platforms are designed to be addictive and are associated with anxiety, depression, and even physical ailments.
माथि उल्लिखित कुरा मैले यहाँ पढेको हुँ । मेरो शरिरले सायद केहि दिन अघि भन्दा कम डोपामिन रिलिज गरिरहेको थियो । लत ले पनि एङ्जाइटी हुने रहेछ र त्यसलाई छोड्न खोज्दा पनि । तर छोड्न खोज्नु भनेको अन्तिम बिदाइ जस्तो हो । यस पछि पुनर्मिलनको कुनै सम्भावना रहँदैन र लती हुनु चाँहि त्यो एङ्जाइटीलाई कसेर अँगाल्नु । अन्तिम बिदाइ कठिन हुने वाला छ । थाहा छ । कक्षा १० हुँदा देखि यो सामाजिक सञ्जाल म सँग छ । दिनको चार घण्टा मत्लब एक बर्षको दुई महिनाको हिसाबमा मोबाइल चलाएको हो भने पनि यी १२ बर्षमा मैले त्यससँग २४ महिना अर्थात २ बर्ष सँगै बिताएको छु । मानिस २० दिनको , एक छिनको प्रेमलाई बर्षौ तड्पन सक्छ भने । मलाई तलतल लाग्नु स्वभाविक हो ।
केहि समय अघि मैले मेरो पहिलो कविता संग्रह समयका खुकुला चप्पल प्रकाशित गरेको थिएँ । अहिले सोच्छु सबै कुरा निर्धारित समयलेनै गर्छ । मेरो सामाजिक सञ्जालको लतले अब समयका गोडाबाट फुस्कन मुनासिव छ । फाटेको चप्पल लगाउँदा चप्पल छ भनेर हेल्चेक्याइँ गरेर हिँडिन्छ र त्यसले गोडालाई जोगाउँदैन , ठेस लाग्छ । बरु खाली खुट्टा हिँडे मसँग चप्पल छैन भनेर होस् पुर्याइन्छ । कमलो ठाँउमा टेकिन्छ , खुट्टालाई चोट पुग्दैन । भन्छन् नि खराब साथीको सँगत गर्नु भन्दा एक्लै हिँड्नु जाती । जायज हो सोह्रै आना जायज हो ।
यात्रा अघि बढिरहेको छ । फाटेको चप्पल कतै मिल्काइदिएको छु समयको गर्तकै कतै पुरियोस् । उसको समाधि माथि लेखियोस् । समयको खुकुलो चप्पल ।
चौथो दिन : ओशो भन्छन्

"Energy itself is neutral, when it is expressed biologically, it is sex. When it is expressed emotionally, it may become love, it may become hate, it may become anger. When it is expressed intellectually, it may become scientific, it may become literary. When it moves through the body, it becomes physical. When it moves through the mind, it becomes mental. The differences are not differences of energy as such, but of the applied manifestations of it."
म ओशोलाई बहुत मनपराउँछु । सामाजिक सञ्जालबाट टाँढा रहँदा मन चञ्चल हुनु स्वभाविक हो । म त्यस चञ्चलताको उत्तर खोज्दैैछु सायद ओशोका शब्दहरुमा । उनका किताब पढेर मैले ध्यानसँग सम्बन्धित कैयौँ कुरा बुझ्न सक्दिन तर कता कता आफुलाई भेट्छु । जीवनका कति कुराका उत्तर भेट्छु । पढ्नुको एउटा सुन्दरता यहि हो ।
सामाजिक सञ्जालका बारेमा एकाध अध्ययनहरु पढिरहेको थिएँ एउटा अनौठो कुरा थाहा लाग्यो । सामाजिक सञ्जालमा पोस्ट गर्नु पछाडिको एउटा डरलाग्दो सत्य । अध्ययन भन्दछन् : मानिस स्वभावैले एउटा यस्तो जात हो जस्लाई बेला बेला समाज र आफू वरपरका मानिसले आफुलाई स्वीकारेको मन पराउछ । उसलाई ढाढस दिएको मन पराउछ । यो चिज सामाजिक संजालमा पनि देखिन्छ । भनिन्छ जो मानिस आफ्नो शरीरको बनोट प्रति असन्तुष्ट छ वा त्यसलाई आफुले चिताएको जस्तो पाउँदैन उसले ठिकै त छ नि जस्तो कमेन्ट पढ्ने आसमा सामाजिक संजालमा बारम्बार आफ्नो शरीर देखिने फोटो राख्दछन् । त्यस्तै एक्लो महशुस गरिरहेको मानिसले नजिकका साथीहरुलाई गुहार्नुको साटो ट्विटर अथवा फेसबुक जस्ता सञ्जालमा एक्लोपन ओकल्छन् । उसको त्यो स्टाटस अथवा उसको पोस्टमा मानिसले भलै कमेन्ट र लाइक गरे पनि उसको एक्लोपनको बास्तविक समस्या समाधान भएको हुँदैन । उसलाई भान हुन्छ कि मेरो वरीपरि मलाई मन पराउने मानिस छन् । तर यो सत्य हैन । मैले देखेको छु एक दिन अघि सम्म साथीभाइ सँग रमाएको फोटो हाल्ने मेरो एउटा छिमेकी केटो भोली बिहान फ्यानमा पासो लगाएर झुन्डिएको । बिहानै उसको झुन्डिरहेको शरीर हेर्दा मात्र मैले उसको सामाजिक सञ्जालको पर्दा पछाडि लुकेको उस्को यथार्थ देखेको थिएँ । त्यो दिन मेरो मन भन्दा पनि चेतना धेरै रोयो ।
त्यस्तै अध्ययनले अर्को उदाहरण दिएको छ । जो मानिसको घरमा पारिवारिक सम्स्या छ उसैले सामाजिक सञ्जालमा सुन्दर परिवारका भनाइ र परिवारको फोटो हाल्ने गर्दछन् । यो पढ्दै गर्दा मलाई कैफी आजमीको एउटा गजलको लाइन याद आयो ।
तुम इतना जो मुस्कुरा रहे हो
क्या गम है जिसको छुपा रहे हो
मानिस मुस्कुराउनु स्वभाविक हो तर सामान्य भन्दा धेरैनै मुस्कुराएको कोहि मानिसले कहिलेकाँहि पिडा लुकाउनलाई मुस्कानको पर्दा भिरेको हुन्छ । आज म यस गजलसँग थप नजिकिएको छु ।
जहाँ सम्म मेरो सामाजिक सञ्जालको कुरा छ । म पनि मेरा कविता वा लेखलाई कसैले राम्रो भनिदियोस् भन्ने हेतुले पोस्ट गर्दो हुँ सायद । कहिलेकाँहि कवितामा कम भिउ आउँदा कसैले भन्न खोजेको कुरा नबुझिदिँदा मलाई पनि ननिको लाग्दो हो । मलाई मात्र हैन यो सबैलाई हुँदो हो । मलाई लाग्छ मानिस यसरी बाँच्न जन्मिएको प्राणी हैन । हो उसलाई ढाढस चाहिन्छ र कसैले काँध थपथपाएको मन पर्छ । तर उसको जीवनमा कर्म प्राथमिकता हुनुपर्दछ न कि ढाढा र स्विकारोक्ति । भागवत गीताको अध्याय दुईमा मा भगवान श्री कृष्ण भन्नु हुन्छ कर्म गर तर फलको आशा नगर । सामाजिक सञ्जालमा त्यो उल्टो छ । फल चाढै पाइएको आभाष भएपछि मानिस बिस्तारै कर्म प्रति उदासिन बन्दै जान्छ । जीवनको प्राथमिकता कर्म हो । ओशोले भनेको छन् जीवन शक्ति एक छ र त्यसलाई के मा लगाउने मानिसको चेतनामा निर्भर हुन्छ । यसको पुर्ण जिम्मेवारी मानिस आफैमा निहित छ ।
पाठकलाई आजको उपहार : कैफी आजमी द्वारा लिखित, संगीत जगजीत सिंह , चित्रा सिंह र स्वर जगजीत सिंह : तुम इतना जो मुस्कुरारहे हो ।
पाँचौ दिन : यात्रा र हाते क्यामरा

द सेक्रेट लाइफ अफ वाल्टर मिट्टी नामक एक फिल्म छ । जस्को अन्त्यमा एक फोटोग्राफर हिउँ चितुवाको फोटो खिच्न धेरै दिन देखि एउटा ठाँउमा पर्खिरहेका हुन्छन् । तर जब उनले हिउँ चितुवा देख्छन् उनले फोटो खिच्दैनन् बस त्यो चितुवालाई नाँङ्गो आँखाले हेरिरहन्छन् । त्यस बेला उनलाई फिल्मका पात्रले किन तँ उसको फोटो खिच्दैनस् भनेर सोध्दा फोटोग्राफर ले भन्छन् “Sometimes I don't. If I like a moment, for me, personally, I don't like to have the distraction of the camera. I just want to stay in it.” ( फिल्मको यो सिन हेर्न यहाँ जानुहोला )
मानिस किन यात्रा गर्छन् ? म यस्को उत्तर मेरा कविता , कथा अनि संस्मरणका माध्ययम बाट खोज्ने चेष्टा गरिरहन्छु । मेरा यात्रा सहयात्री प्राय जसो फोटोग्राफर हुने गर्दछन् । उनीहरुको कर्मनै तस्विर खिच्नु हो । त्यसैले गर्दा तिनले पैसो कमाउँछन् । नेपाल एड्थ वन्डर मेडियाबाट यात्रा बृतचित्र बनाउने सिलसिलामा म धेरै ठाउँ घुम्न पुगेँ । टिमका मानिसलाई प्रकृतिको सुन्दरता उठाउनलाई भन्दा पनि त्यसलाई तस्विरमा उतार्न हतारो हुन्थ्यो । मैले यस कुरामा गुनासो गरेको भने हैन । यो त्यो टिमको धर्मै हो । मानिसलाई देशका बिभिन्न ठाँउ देखाउनका लागि उनिहरुले गुमाउने कुरा हो यो । जब मैले केहि महिना अघि दुई बर्ष काम गरेको त्यो टिमलाई छोडेँ । त्यसपछि गरेका यात्रा केहि भिन्न हुन पुगे ।
भिन्न कुन आधारमा भने केवल यात्रा प्राथमिकता हुन्थ्यो । मैले यात्रालाई त्यसक्षण अलिक फरक हिसाबले हेरेँ । एकाएक मनमा एउटा प्रश्न अंकुरायो । यदि क्यामेरा नभएको भए कति मानिस घुम्न आउँथे ? इलाममा दिदिको बिहे हुँदा त्यहाँका पुरेत बाजेले गरेको गुनासो सम्झन्छु । उहाँ भन्नुहुन्थ्यो बाबु अचेल त हाम्रो समय अनुसार बिहे चल्दैन । क्यामेरा वालाले जे जे गर्नु भन्छ त्यही पो गर्नु पर्छ । मलाई त्यसबेला हाँसो उठेको थियो उनको कुरा सुनेर अचेल म त्यस कुरालाई लिएर गम्भिर बनिदिन्छु ।
क्यामेरा भन्ने कुरा जीवनका पलहरुलाई कैद गर्न जन्मिएको आविष्कार हो । यसले यस्ता पलहरुलाई झाँगिन दिएर सुटुक्क तिनलाई कैद गर्नु पर्ने हो । तर कुरो के भयो भने । यसले मानिसको व्यवहार निर्धारित गर्न थाल्यो । मानिस घुम्नका लागि नभएर कुनै डाँडामा गएर सुन्दर फोटो निकाल्न मात्र व्यस्त भइदिन्छन् । खाना पाक्यो , कस्तो राम्रो बाफ आयो , यसो स्न्याप पठाउनु पर्यो । स्ट्रिक्स कि कोनी के जाती जिवित रहन्छ । प्लेटमा खाना पस्कियो अथवा रेष्टुरामा खाना आयो , स्न्याप । साथीले चुरोट खायो , स्न्याप ।कसैले गीत गायो , स्न्याप । कसैले गीत गाएको भिडियो कैद गर्नेलाई एक दिन पछि वा केहि छिन पछि अघि गाइएको गीत कुन हो भनेर सोध्नुस त उसले बिर्सिजान्छ । हामी सम्झना कैद गर्नै होडमा लागेर सम्झनालाई सम्झन र आत्मसाथ गर्न भुलिरहेछौँ ।
कहिले काँहि सोच्छु । यो संसारनै यसरी चल्दछ म किन फरक बनुँ । म पनि स्न्याप चलाउँ । जीवनका हरेक कुरालाई मोबाइल अर्थात हाते क्यामराले कैद गरिदिउँ । फेसबुक र इन्सटामा त मैले पनि फोटो राखेर कुनै दिन तमास गरेकै हुँ । तर सोच्छु मैले रेष्टुरेन्टमा खाना आउने बित्तिकै खानाको फोटो खिच्न थालेँ भने मैले वेटरको मिठो मुस्कान हेर्न छुटाउँछु । यात्रामा मैले डुब्दै गरेको घाम खिच्न थाले भनेँ घाम डुबिसक्दा पनि म मोबाइलमानै हराउँछु । साथीले गाउँदै गरेको गीतलाई मोबाइलमा कैद गर्न थालेँ भने म त्यसको मिठो धुनमा रमाउनबाट बन्चित हुन्छु । बाले दशैमा टिका लगाइदिँदा मैले बालाई कैद गरेँ भने आशिर्वादका केहि वाक्य गुमाउँछु । आमाले टाउँकोमा तेल लगाइदिँदा उनलाई कैद गर्न थालेँ भने मैले एउटा जीवन्त अनुभुति गुमाउछु । मलाई थोरै पाएर धेरै कुरा गुमाउने परिस्थितिसँग भय छ । डराउँछु । डरपोक हुँ । कहिलेकाँहि डरले मानिसलाई जीवन दिन्छ भन्ने सुनेको हुँ । म त्यसैमा खुसी छु । म आफुलाई फिल्म मेकर भएको हेर्न चाहन्छु । म क्यामेरा चलाउँदिन भनेर भन्न सक्दिन तर काम र जीवनको भिन्नतालाई सदैव स्मरण गर्नेछु ।
अनि द सेक्रेट लाइफ अफ वाल्टर मिट्टीमा लेखक सिन ओ कोनेल ले लेखेकोझैँ अब I don't like to have the distraction of the camera. I just want to stay in it.”
छैटौँ दिन : छुट्छु कि भन्ने डर

अङ्ग्रेजीमा एउटा टर्म छ । FOMO अर्थात ( Fear Of Missing Out ) । परिभाषित गर्दा FOMO यस्तो हुन जान्छ । "anxiety that an exciting or interesting event may currently be happening elsewhere, often aroused by posts seen on social media." नेपालीमा भन्ने हो भने मैले संसारमा भइरहेका रमाइला र महत्वपूर्ण घटनाहरुका बारेमा पो थाहा नपाउने हो कि भन्ने डर । सामाजिक सञ्जालबाट टाढा बस्दा मानिसमा यो डर उत्पन्न हुन्छ भन्ने कुरा धेरै अध्ययनहरुले प्रमाणित गरिसकेका छन् । साथीले नानी पायो कि ? साथीभाइ आजकल कहाँ जाँदै छन् । छिमेकी के गर्दै छन् । देशमा के भयो । नयाँ मिम के के आए बजारमा । को रातारात परिचीत भयो । को हाँसोको पात्र बन्यो । यी सबै कुराबाट बञ्चित हुन्छु कि भन्ने डरले मानिसलाई दिन रात सताउछ । संसारको यो गति सँग तालमेल मिलाउन मानिस सधै प्रयासरत देखिन्छ । तर यसो गर्दा उसको जीवनको गतिको भने के हुन्छ ?
आज सामाजिक संजालको वाल नचिहाएको छैटौँ दिन । म छुट्छु भन्ने डर मनमा एक थोपो पनि पलाएको छैन । मलाई लाग्छ मानिस असिमित सम्भावनाहरु बोकेर आएको तर पनि संसारको बिराटता हेर्ने हो भने उसका ति सम्भावनाहरु सिमित लाग्दछन् । मैले कृष्णको जीवनसँग आफुलाई दाँजेँ भने म जीवनभर असन्तुष्ट रहन्छु । मलाई लाग्छ जति कोसिस गरे पनि मैले यस जीवनमा सिमित कुराहरुलाई मात्र जान्न सक्छु र तिनीहरुको खबर राख्न सक्छु । मानिस केवल एक धुलोको कण हो यो बिशाल श्रृष्टिमा ।
मैले अहिले यहाँ यो लेख लेखिरहँदा तपाई पाठक केहि त गर्दै हुनुहुन्थ्यो होला । तर त्यो तपाई सँगै राख्नु होला । यो बिशाल संसारमा मेरो तपाईसँग कुनै दिन भेट भयो भने म तपाईसँग केहिबेर गफिनेछु । सामाजिक सञ्जालले हामीलाई संसारसँग जोड्दछ यो कुरालाई म नकार्न सक्दिन । मानिस मानिस बीचको भौतिक दुरीलाई शुन्य तुल्य बनाउनलाई सामाजिक सञ्जालको अह्म भुमिका रहेको छ तर म यहाँ जे कुरा गर्दै छु त्यो भावनात्मक दुरीको कुरा हो । मोबाइल वा कम्प्युटरको पर्दामा देखिने संसार यति जीवन्त लाग्दछ कि हामी त्यसलाई वास्तविकता ठानि रहेका हुन्छौँ । यहाँ आएर समस्या उत्पन्न भइदिन्छ ।
मेरो छिमेकमा कसैको छोरा जन्मियो भने म उसलाई फेसबुक र इन्स्टाग्राम मार्फत बधाई दिन्छु तर दुई मिनेट हिँडेर गएर म त्यो बच्चाको मुहार हेर्न जान्न । मलाई फेसबुकले पहिल्यै रिकमेन्ड गरेको कमेन्ट , Congratulations both of you लगायतका कुराहरु पोस्टाउन सजिलो हुन जान्छ । हुँदा हुँदा अहिले मानिसको मृत्युमा आधा मलामी त फेसबुकमै जान्छन् । Rest In Peace , Gone too soon लगायतका शब्दहरुको मलामी कमेन्ट बक्समा प्रसस्त देख्न सकिन्छन् । थाहा छ साँच्चिकै Fear of Missing Out के हो ?
छिमेकमा जन्मिएको बच्चाको कलिलो हाँसो हेर्न नपाउनु । बच्चा जन्मिए पछि बुबा आमामा देखिएको खुसीलाई समिपमा रहेर आत्मसाथ गर्नु । कोहि मर्दा , कहिले नफर्कने उसलाई एक पल्ट अन्तिम बिदाइ दिन नपाउनु । मेरो लागि मिसिङ आउट त्यो हो ।
मानिस जतिनै कोसिस गरोस् तर उसले सबै कुरा भ्याउन सक्दैन । त्यो सामाजिक सञ्जालको पर्दा मिथ्या हो झुटो हो । मलाई जीवनबाट मिस आउट भएर त्यसको रफतार समाउनु छैन । जीवनको रफतार उत्तिकै सुन्दर छ म यसलाई खुलेर जिउँन चाहन्छु । राजेश दाई अर्थात राजेश हमालको यति बेला राम्रो जोक बजारमा आएको होला । या कुनै सेलिब्रेटीको नग्न तस्विर भाइरल भएको होला वा भनौँ आज शाहरुख खान मन्नतको बार्दलीमा उभिएर हात हल्लाइरहेका होलान । थाहा छैन फेसबुक वा सामाजिक संजालमा के भइरहेको छ । अहिले बिहानको ५ ; ५३ बजेको छ । म २५ मिनेट देखि यो लेख लेख्दैछु र यस दौरान मेरो कुकुर उठेर बाहिर जान फुर्तीफार्ती गर्दै छ । एउटा कुकुरको आयु ९ देखि १३ बर्ष हुन्छ अरे । मेरो कुकुर ३ बर्षको भयो । अब म सँग त्यो सँग खेल्नका लागि केवल ६ ७ बर्षको समय मात्र बाँकी छ । मलाई त्यसमा मिस आउट हुनु छैन । मलाई डर छ त केवल जिउँन सक्दिन कि भनेर । खबरको लोभ मैले अब गर्न छोडिदिएको छु ।
सातौँ दिन - सिक्ने कि सिकाउने : द मोर्डन फेम उर्फ प्रसिद्धि

यो लेखले कसैको खुवी माथि शंका गर्दैन र कसैको कलालाई अपमान गर्दैन यदि कसैको जीवनसँग मेल खाएमा वा कसैको भावनामा ठेस पुगेमा संयोग मात्र हुनेछ ।
अरिजित सिंहको कुरा गरौँ । उनलाई नचिन्ने सायदै कोहि होला । म उनको भइंकर ठूलो प्रशंसक हुँ र मेरा फुर्सदका पल उनका गीत सुनेर गुज्रने गर्दछन् । मैले केहि दिन अघि द म्युजिक पोडकास्टमा उनको अन्तरवार्ता सुनेको थिएँ । तब मलाई बोध भयो कि अरिजित सिंह किन सबको प्रिय भएका हुन्। बर्षौँ सम्मको उनको रियाज , भारतिय संगीतकार प्रितमसँग असिस्ट्यान्टका रुपमा उनले गरेको काम । अरिजित सिँहलाई उनको रियाज र सिक्ने चाहले अरिजित सिंह बनाएको रहेछ । म त्यसपछि अहिलेका सो कल्ड कलाकार हेर्छु । मलाई ताज्जुब लाग्छ कि कलाकारी क्षेत्रमा देखिएका थोरै समयमानै उनीहरु कार्यक्रमहरु तिर शिक्षा बाँडिरहेका भेटिन्छन् । थाहा छैन ख्याती छिट्टै पाएर हो वा के हो उनीहरुले सिक्न छोडेको आभाष हुन्छ मलाई । म आफै पनि कविता लेख्छु , कथा लेख्छु । तर मलाई लाग्दैन कि म जान्ने भएको छु । मेरो अगाडी एउटा साहित्यको अथाह संसार भर्खर खुलेको छ । मलाई हराउनु छ त्यही । एक पल्ट सम्झन्छु मेरो नजिककै भाइले उसको कलेजमा एउटा कविता कार्यक्रम हुन लागेकाले मलाई जज बनिदिन आग्रह गर्यो । बहुत प्रेम छ भाइलाई कि उसले मलाई यस लायक सम्झियो तर म आफैले सम्झन सकिन । मलाई लाग्छ म कसैको कलालाई जज गर्ने हैसियतमा पुगेको छैन । मेरो हैसियत केवल एक पाठकको छ र आजीवन रहोस् भन्ने चाहन्छु । भारतिय लेखक गुल्जार उमेरले उनानब्बे बर्ष पुगे अहिले पनि उत्तिकै पढ्छन् । उनको रियाज किताब हो । सिक्ने चाह जब सम्म मानिसमा रहन्छ ऊ जीवन्त रहन्छ ।
अब कुरा गरौँ ( The Social Media Fame ) फेमलाई यश भनौ प्रसिद्धि भनौँ जे भने पनि भयो । कुनै जमाना थियो जब परिचित हुनु भनेको केहि जानेको हुनु थियो । आफ्नो विषयमा पारङ्गत हुनु थियो । समाजलाई केहि टेवा पुर्याउनु थियो । त्यस बेला प्रसिद्धि जो कोहिले पाउँदैन थियो । कसैले जीवन कुनै एक कुरामा व्यतित गरे पश्चात र केहि महत्वपूर्ण कुरा हात लगाए पश्चात मात्र संसारले उसलाई चिन्दथ्यो । तर अहिले प्रसिद्धिको अर्थ हो , फलोअर्स , लाइक्स अनि सेयर्स । यसलाई हामी आधुनिक प्रसिद्धि भनेर बुझ्न सक्छौँ । मैले केहि जानेको हुँ वा नहुँ यदि मेरो मिलियन फलोअर्स छ भने म इन्फ्लुएन्सर भइगए । मोर्डन प्रसिद्धिलाई हामी इन्फ्लुइन्सर्सको उपमा दिन सक्छौँ । यसरी प्रसिद्धि सस्तो हुनु सामान्य दृष्टिकोणबाट हेर्दा खासै समस्याजनक देखिँदैन । तर इन्फ्लुइन्सर भन्नाले जसले अरुलाई बैचारिक वा अन्य हिसाबले प्रभाव पार्न सक्छ त्यस्ता मानिसलाई बुझाँउछ । अब आफै बिचार गर्नुहोस् हजारौँ मानिस कस्को प्रभावमा परेका छन् र त्यो प्रभावले समाजलाई कता लैजान्छ । हामी ज्ञानको पछि भन्दा पनि प्रसिद्धिको पछि कुदेका मानिस हौँ । एकपल्ट टक्क अडिएर आफैलाई नियाल्न पर्ने आवश्यकता छ ।
हरेक मानिस अथवा इन्फ्लुएन्सरको शब्दहरुले जहाँ ठूलो महत्व राख्दछ त्यस्ता समाजमा बेचैनी बढ्नु स्वभाविक छ । यो किन भन्दा यहाँ राम्रा बिचारले मात्र हैन नराम्रा , विद्रोही , मानवता विरोधी बिचारहरुले पनि प्रभाव पार्दछ । नाङ्गिएर फलोअर्ज बडाएको इन्फ्लुएन्सरले मलाई कसरी नाङ्गिने मात्र सिकाउन सक्छ । कसैलाई गाली गरेर प्रसिद्ध भएको एक इन्फ्लुएन्सरले मानिसलाई कसरी तल देखाउने मात्र सिकाउन सक्छ । सबै आकर्षक चिज फाइदाजनक हुन्छन् भन्ने छैन । म को बाट के सिक्छु र कसलाई मेरो समय दिन्छु । त्यो जान्न जरुरी छ । प्रसिद्धलाई वा केवल सिद्धलाई यसलाई म आफै मात्र तय गर्न सक्छु । यसको नकारात्मकताको केवल आफैले मात्र भय गर्न सक्छु ।
आठौँ दिन : In a Reelationship !

रिल्स अनि युट्युब सर्टस्को म पनि लती हो । त्यहाँ एक एक पलमा संसार बदलिन्छ । एक पल कुनै सुन्दर युवतीको नृत्य आइरहेको हुन्छ । अर्को पल चाइनाको कुनै ठाँउमा बाँसको सामान बनाइरहेका मानिस , भुइ खनेर अस्थायी घर बनाइरहेका अफ्रिकन पुरुष । शरीर सुगठनमा लागि परेका अभिनेता । संसार अट्छ त्यहाँ । कहिलेकाँहि म त्यसमा यति अल्मलिनथ्ये कि सोच्थेँ म आज एकै दिनमा संसारका सबै रिल हेरेर सकिदिउँ तर सकिँदैन । अथाह छन् ।
मलाई मात्र हो वा अरुलाई पनि हुन्छ थाहा छैन तर म यहाँ एउटा प्रश्न राख्न चाहन्छु । के कहिलेकाँहि रिल हेर्दै गर्दा अथवा यत्तिकै सामाजिक सञ्जाल चलाइरहँदा एकाएक उदासीले झ्याप्प छोप्दछ ? म यो के गरिरहेको छु , किन यसरी समय बर्बाद गरिरहेछु भन्ने ग्लानीले चसक्क घोच्छ । के तपाईहरुलाई पनि यस्तो हुन्छ ? मलाई बारम्बार हुने गर्दथ्यो । पछिल्लो आठ दिनबाट मैले यस कुराबाट मुक्ति पाएको छु ।
Mindless scrolling is when someone gets on social media – whether it be Twitter, Instagram, Tiktok, or Facebook and starts scrolling through their feeds without even thinking about why they are doing it.
माइन्डलेस् स्क्रोलिङ एउटा बहुत ठूलो समस्या हो । यदि तपाईलाई सामाजिक सञ्जालको लत छ वा छैन भन्ने बुझ्न चाहनु हुन्छ भने एकपल्ट याद गर्नुस् कि तपाई पनि माइन्डलेस् स्क्रोलिङको सिकार त हुनुहुन्न ? Mindless scrolling समयको सिकारी हो । यसले समयको सितन खान्छ । दिनभर मोबाइल चलाएँ तर के चलाएँ के हेरे सम्म मानिसलाई याद रहन्न। लाग्छ, मानिसलाई कसैले लागु पदार्थ सेवन गराएर कुनै काममा लगाइदिएको छ । गाँजा लाग्दा जसरी कोहि एकोहोरो हाँस्दछ तर हाँस्नुको कारण जान्दैन । सामाजिक सञ्जाल चलाउने मानिसको पनि त्यही हाल छ ।
एउटा अङ्ग्रेजी टर्म छ Boredom। म यहाँ आज त्यसको कुरा गर्छु । क्याल निउपोर्टले आफ्नो किताब Deep Work मा यसको बारेमा लम्बा चौडा ब्याख्या गरेका छन् । म यहाँ त्यसको थोरै कुराहरु राख्दछु । मानिसलाई Boredom अर्थात खाली समय किन चाहिन्छ ? भनिन्छ मानिसले प्रायजस्तो रचनात्मक अथवा खोजमुलक कार्यहरु यसै समयमा गर्दछ । याद गर्नुस तपाई सामाजिक सञ्जाल नहुँदा फुर्सदका पल बिताउन के गर्नु हुन्थ्यो र अहिले के गर्नु हुन्छ ? कसैले स्वीटर बुन्थे होलान् । कोहि साथीसँग चेस खेल्थे होलान् । कोहि फोटोसप सिक्थे होलान् । अनेक काम थिए जसले जीवनलाई र चेतनालाई स्वस्थ राख्दथे । मानिस हरेक दिन नयाँपन सँग एकाकार हुने गर्दथ्यो । तर अहिले उल्टो छ । मोबाइलको संसार खरायो गतिमा चलिरहँदा मानिसको संसार भने एकै ठाँउ जकडिएको छ ।
ब्लेज पास्कलको एउटा भनाइ छ ।
“ All of humanity's problems stem from man's inability to sit quietly in a room alone.”
अब सोचौ हामी पछिल्लो पल्ट एक्लै कहिले थियौँ ? कहिले हामीले ध्यान यता उता नपुर्याइ जीवनका बारेमा एक घण्टा सोच्यौँ ? जीवन मोबाइलको सक्रिन भन्दा बाहिर पनि त छ । के त्यहाँ हाम्रा पाइला चल्दैछन् ? पछिल्लो पल्ट हामीले नयाँ सीप के सिक्यौँ ? सबथोक मोबाइलमा पाएर मानिस आफैलाई खोज्न बिर्सिनु सायद मानव सभ्यताले पहिलो पल्ट अनुभव गर्दै छ ।
ओशो भन्छन् । पश्चिमा राष्टहरु कहिले पनि मन भित्र जान सकेनन् । उनीहरुले चेतनाको विचार शक्तिलाई पोस्न मात्र लागिरहे र मनको शान्तिलाई मध्यनजर गरिदिए । फेसबुक लगायतका सम्पूर्ण सामाजिक सञ्जाल पश्चिमका आविष्कार हुन् । हाम्रो सभ्यताले एकअर्कासँग रहेर बाँच्न सिकाउँछ । जिउँदाको जन्ती मर्दाको मलामी हाम्रो सभ्यताको सत्य हो । तर त्यो अब केवल सामाजिक सञ्जालको वालमा सिमित छ। हामी पनि पश्चिम बन्दैछौँ । हाम्रो मन पनि खाली हुँदैछ ।
कुनै लेखले कहिलेकाँहि ठोस् अर्थ दिँदैन । किनभने लेखक आफै पनि अर्थसँग एकाकार भएको हुँदैन । म यहाँ जीवन केलाउँदै छु । त्यसलाई नाङ्लोमा राखेर निफन्दै छु । यदि कतै ढुङ्गा भेटिए औँल्याइदिनु होला । कहिले काँहि हेर्दा हेर्दै पनि केहि छुट्न सक्छ ।
हरेक दिन मैले यस्तो लेखिरहँदा तपाईहरुलाई लाग्न सक्छ कि म सामाजिक सञ्जालको घोर बिरोधी हुँ तर म यहाँ यसले मेरो र अरुको जीवनमा पारेको प्रत्यक्ष र अप्रतक्ष्य असरलाई केलाइरहेको छु । म छुँ सामाजिक संजालमा, तर मैले त्यहाँ मेरो कति समय दिने हो भन्ने कुरालाई १३ दिनको यो लेख यात्रामा केलाउन खोज्दैछु । सामाजिक सञ्जाल जीवनलाई सहज बनाउने एउटा माध्यम हो । तर पछिल्लो समय यसले मेरो जीवनमा कठिनाइ ल्याइदिएकाले म यसका बारेमा चिन्तन गर्न बाध्य भएको हुँ । यदि तपाई सामाजिक सञ्जालमा हुनुहुन्छ तर त्यसले तपाईको समय फोकटमा खाँदैन र मानसिक शान्तिलाई बिथोल्दैन भने तपाई भाग्यमानी हुनुहुन्छ । तपाईलाई एउटा लतले छुन सकेको छैन। बधाई छ ।
नवौँ दिन : सम्झन नसक्ने कि सम्झन नदिने ?

In a new paper published in the Journal of Experimental Social Psychology, researchers showed that those who documented and shared their experiences on social media formed less precise memories of those events.
यहाँ एउटा प्रश्न आफैलाई गर्दछु । के यो नसम्झनुको समस्याले मेरो स्मरण शक्ति कमजोर भए तर्फ इशारा गर्दछ ? सामान्य हिसाबले हेर्ने हो भने पक्का पनि गर्दछ तर म यसको ९० प्रतिशत दोष (attention span ) अटेन्सन स्पान लाई दिन्छु ।
एउटा उदाहरण, मानिलिउँ म इन्स्टाग्राममा कुनै रिल हेर्दै छु । त्यहाँ एउटा भिडियो देखियो जहाँ मैले संसारका सबैभन्दा बिशाल नदिहरुको परिचय पाएँ तर त्यो हेरि नसकिँदै रिल फिडले मलाई अर्को भिडियो देखाइदियो जहाँ ब्राड पिटले आफ्नो पहिलो फिल्म खेल्नुको अनुभव साझा गरिरहेका थिए । अब मैले बिशाल नदिहरु कुन कुन थिए भन्ने कुरालाई बिर्सिदिएँ । मानिसको दिमाग एउटा भंयकर योग्य कम्प्युटर हो जसले धेरै भन्दा धेरै कुरा स्मरण गर्न सक्छ तर यहाँ के भइदिन्छ भने उसले त्यती समय पाउँदैन कि उसले त्यो रेकर्ड गर्न सकोस् । मानौ तपाई कम्प्युटरमा केहि कपि गर्दै हुनुहुन्छ र भर्खर २० प्रतिशत कपि हुँदै गर्दा तपाईले क्यान्सल गरिदिनुभयो । अब के कम्प्युटरले त्यो फाइल पुरा रुपमा पाउँछ त ? हो मानिसको दिमागलाई पनि केहि कुरा स्मरण गर्न समय चाहिन्छ तर हामी त्यो समय दिन सक्दैनौँ ।
स्कुल पढ्दा पढेका कुरा कसरी याद हुन्थे ? किनकी हामीसँग Distraction थिएन । हाम्रो ध्यान त्यती सहजै भङ्ग हुँदैन थियो । आज जब मोबाइल हातमा छ । तपाईलाई कुनै शब्दको अर्थ हेर्न शब्दकोष पल्टाउने जरुरी पर्दैन तपाई त्यही समय शब्दको अर्थ हेर्नु हुन्छ र अर्को क्षणमै त्यसलाई बिर्सिदिनु हुन्छ । यसले गर्दा तपाईको दिमागले परिश्रम गर्नु पर्दैन । दिनभर खेतमा हलो जोत्नेको हात बलिया हुन्छन् र घरमै बसेर कामचोरी गर्नेका पाखुरा कमजोर । दिमागमा पनि यहि नियम लाग्दछ । बाँकी तपाई आफै समजदार हुनुहुन्छ ।
एउटा कुरा भने निश्चित छ । हाम्रो दिमागले सम्झन नसकेको हैन । हामीले त्यसलाई सम्झन नदिएका हौँ ।
दशौँ दिन : नयाँ सम्बन्ध सामाजिक सञ्जालसँगको

हिजोको कुरो हो । दिउँसो एकपल्ट मैले मेरो फेसबुक र इन्स्टाग्राम दुवैमा एक पल्ट लग इन गरेँ । हेरे सरसरती ५ मिनेट जति कस्तो अनौठो अनौठो लाग्यो । मलाई आफ्नो बिगत सम्झेर एकक्षण ताज्जुब लाग्यो । सोचे केहि दिन , ठ्याक्कै भन्दा १० दिन अघि म जे नभइ बस्न सक्दिन थिएँ एकाएक त्यसको आकर्षण हराएझैँ लाग्यो । सामाजिक सञ्जाल जीवनको एउटा साघुरो पाटो रहेछ म त्यसलाई जीवनको फराकिलो मैदान भनेर अल्मलिएको रहेछु । लत थियो मलाई यसमा कुनै दुईमत छैन । कुनै समय मैले सामाजिक सञ्जाललाई ६ महिना डिलिटनै गरेर बसेको पनि हुँ तर जब चलाउन थालेँ म पुन: यसको लती बनेँ । त्यसपछि यसरी लत लाग्यो कि मैले त्यसलाई छोड्नै सकिन । पहिलो लेखको अन्त्यमा भनेको थिएँ म सामाजिक सञ्जाललाई कुनै चुरोटको लतीले चुरोटेहरुकै बीच रहेर चुरोट छोडेझैँ छोड्न चाहन्छु । यो १३ दिनको यात्रा त्यसैको एउटा प्रयास हो । जारी छ ।
याद छैन पुरानो लेखमा भनेको थिएँ कि थिइन तर मोबाइल मानिसको जीवनलाई सहज बनाउने एउटा प्रविधि मात्र हो । तर त्यसलाई जीवन ठान्नु मानिसको एक भुल हो । म आफ्नो गल्ती स्वीकार्दछु ।मानिसले किनेका अन्य उपकरण जस्तै साइकल , गीतार पार्किङमा र कोठामै बस्दछन् । उनीहरुले मानिसलाई आज मलाई चढ अथवा मलाई बजा भनेर बोलाइ रहन्नन् । तर मोबाइलले सधै मानिसलाई नजिक बोलाउँछ अनि मलाई चला भन्दछ । यो किन हो भने हाम्रो समयको सितन खाएर मात्र जुकरबर्ग दाईको पेटमा अन्न पस्छ । हाम्रो समयनै उनको व्यापार हो । हामीले हेर्ने भिडियो र अनलाइन सामग्रीको बीचमा कुनै एउटा बिज्ञापनलाई जबरजस्ती हुलिदिएर उन्ले पैसो कमाउँछन् । मस्क दाईको पनि त्यही हो सबै सामाजिक सञ्जालका साहुहरु त्यसरीनै आफ्नो बैँक ब्यालेन्स बढाउँछन् । कस्तो ताज्जुबको कुरा छ । अमेरीकाको कुनै एउटा कुनामा बसेर एकाध अपरेटर र पावरफुल कम्प्युटरले फेसबुक कसरी मानिसको मस्तिस्कलाई मथ्न सक्छ । सामाजिक सञ्जालले मलाई चिनाएको छ भन्ने कुरामा मैले प्रश्न गर्नु हुँदैन किनकी त्यो एक अकाट्य सत्य हो । आफ्ना कुरा धेरै भन्दा धेरै मानिस सम्म पुर्याउन , व्यापार बढाउन यो माध्यम सहज छ र फाइदाजनक पनि छ तर यसले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जुन असर मानिसको चेतनामा पार्दछ त्यसको खतरा यसको फाइदा भन्दा बिशाल छ । भन्छन् कि समुद्रमा रहेको हिँउँको ढिक्काको एकदमै सानो भाग मात्र पानी बाहिर रहन्छ । फेसबुक लगायतका अन्य सामाजिक सञ्जालको खतरा पनि त्यो पानी मुनि डुबेको भाग जस्तै छ । सहजै देखिन्न ।
यो १३ दिनमा मैले अनुभव गरेको कुरा के हो भने मैले सामाजिक सञ्जाललाई मेरो फाइदा अनुरुप चलाउनु पर्छ र यसबाट लाभ उठाउनु पर्छ । यसले मलाई चलाएको दिन मेरो अस्तित्व खतरामा पर्नेछ । म आफुलाई बचाउने प्रयासमा छु । मोबाइलमा एप्लिकेसन हटाइदिएको छु । मेसेन्जर छ मोबाइलमा, बेला बेला साथीभाइ सँग जोडिदिन्छ । जे कामको लागि चलाउन सुरु गरेको थिएँ त्यसैका लागि मात्र प्रयोग गरिरहेको छु । जे होस् मन शान्त छ । नयाँ किसिमको सम्बन्ध गाँसिएको छ प्रविधि र सामाजिक सञ्जालसँग । यो सम्बन्ध पहिलेको भन्दा मिठो छ लाभदायक छ ।
एघारौँ दिन : कनेक्सन VS कम्युनिकेसन

LinkedIn भन्ने एउटा एप्पलिकेसन छ । जसमा यदि तपाई र कोहि मानिस जोडिनु भयो भने त्यसलाई LinkedIn ले कनेक्सन भनेर परिभाषित गर्दछ । तर फेसबुकलाई हेर्नुस् तपाई जोसँग जोडिए पनि तपाई उसको फ्रेन्ड अर्थात साथी बनिहाल्नु हुन्छ । मेरो फेसबुकमा १७०० जना साथी छन् । म त्यसलाई सम्झेर बेला बेला एक्लै हाँस्छु ।
नेपाली शब्दकोषका अनुसार साथीको अर्थ हुन्छ : एकसाथ रहने वा सँगै बसउठ गर्ने व्यक्ति , सँगी , मित्र अथवा कुनै कामकुरामा साथ दिने , परिआएका बेला मद्दत गर्ने , सहायक , सहयोगी , मदतगार । अब भन्नु तपाईका कति वटा फेसबुक फ्रेन्ड यस साथीको यस परिभाषा भित्र पर्दछन् । मैले भन्न खोजेको के हो भने तपाईका फेसबुकका साथी कनेक्सन हुन् कम्युनिकेसन हैनन् ।
तपाईलाई याद छ मानिस किन चिठ्ठी लेख्थे ? यो घरायसी चिठ्ठीको कुरा हो । आफ्नो गैरहाजिरिमा कसैलाई आफ्नो कमीको अनुभवले नसताओस् भनेर मानिस चिठ्ठी लेख्थे आफु त्यहाँ उपस्थित हुन नसके पनि आफ्नो खबर पुगोस् भन्ने उद्देश्यले । चिठ्ठीले एक अर्कासँग भेट्नका लागि एक सुन्दर माहोल सृजना गर्दथ्यो । हामी पनि अहिले चिठ्ठी लेख्दछौँ । एक दुई वाक्य वा एक दुई शब्दका अनि हाम्रो सामाजिक सञ्जाल नामक हुलाकीले त्यसलाई एकै पलमा गन्तव्य पुर्याइदिन्छ । तर यसले गर्दा के भयो भने मानिसलाई मानिससँग भेट्न भन्दा यहाँ बोल्न सजिलो भइदियो । मानिस अब कम्युनिकेसनमा भन्दा कनेक्सनमा रमाउँन थाले ।
कहिकाँहि कल्पना गर्छु कि मैले च्याटमा बोलिरहेको मानिस एकाएक मेरो सामुन्ने आइदियोस् र मलाई हाउ भाउ सहित आफ्नो कुरा बताइदियोस् । म तिमीलाई माया गर्छु भनेर म हग्दै लेख्न सक्छु । तपाईले सोच्नु भएको छ ? आफुलाई मनैबाट महसुस नभएका कुराहरु पनि मानिसले सामाजिक सञ्जाल अथवा टेक्स्ट मार्फत लेख्न सक्दछ । मलाई बिश्वास गर म एकदमै इमान्दार छु भनेर कसैले चोरी गर्दै गर्दा लेख्न सक्दछ । गुल्जारको एउटा गीत छ नेनो कि मत मानियो रे नेनो कि मत सुनियोनेना ठगलेङ्गे तर त्यो भन्दा ठूलो ठग म्यासेज हो । मलाई मानिस मानिस बीचको संवाद मन पर्छ । उनीहरुले सँगै बसेर एक अर्कालाई खोतलेको मन पर्छ । म कम्युनिकेशनमा बिश्वास राख्दछु ।मलाई लाग्छ म्यासेजले केवल शब्द बोक्दछन् भावना बोक्दैनन् । बोके पनि आधा अधुरा बोक्छदन् । यदि तपाईसँग कसैको विवाद भयो अथवा उसलाई भेट्नुहोस् , ऊ सँग बस्नुहोस् र सम्स्या केलाउनुहोस् । पक्कै पनि समाधान हुनेछ । मानिस च्याटमा अरुसँग भन्दा पनि आफैसँग बोलिरहेको हुन्छ । अरुका शब्दका आफ्नै अर्थ निकालेर त्यसमै अल्मलिइरहेको हुन्छ । कहिले काँहि अरुको पनि सुनिदिनु कति सुन्दर कुरा हुन्छ एकपल्ट सुनिदिएर हेर्नुहोस् । कनेक्ट मात्र हैन बेला बेला कम्युनिकेट पनि गर्नुस् त्यसको बेग्लै मजा हुन्छ ।
अन्त्यमा : १३ दिन सम्म मैले हरेक दिन लेख्ने बाँचा गरेको थिएँ तर त्यो सम्भव नहुने देखियो अब यसैलाईनै अन्तिम लेख मानिदिनुहोला । कार्यव्यस्तता र मसँग ल्याप्टप नहुने भएकाले मेरो जीवनमा यो परिस्थिति आइ परेको हो । म यसका लागि माफी चाहन्छु । जे होस् यो ११ दिनको यात्राले पनि सामाजिक सञ्जालका अनेक पाटाहरु माथि प्रकाश पार्न मद्दत गरेको होला भन्ने आशा राखेको छु र व्यक्तिगत हिसाबले हेर्ने हो भने यसले मलाई पनि आफुसँग अझ नजिक पुर्याएको छ । पढ्दै गर्नुहोला । म यात्रामै छु …. जीवनको र यस यात्रामा मसँग सम्बन्ध गाँस्नु परे वा कुनै कारणबस जोडिनु परेमा कनेक्सनलाई नभएर कम्युनिकेसनलाई प्राथमिकता दिनुहोला ।

