थाहा छैन के सोच्यो मनले, धेरै समय देखि आफू भित्र गुम्सेको खिन्नता उनको सामु पोखुझैँ लाग्यो । गल्तीको ग्लानीले डेरा जमाएको मनले उसलाई माफी पनि मागेको थिएँ , माफ गरेँ बाबा भनेर उसले भनेकी पनि हो तर अहँ मनले मान्ने वाला थिएन, मलाइ माफ भन्दा उनी धेरै आवश्यक थियो । उनको उपस्थिति आवश्यक थियो । उसका आँखामा आँखा जुधाएर एक पल्ट भन्न मन लाग्यो, मलाइ माफ गरिदेउ मबाट भुल भयो . म तिमीलाइ अझै उतीकै माया गर्छु । मान्छेलाई आफ्नो गल्तीको अनुभव हुने बित्तीकै छटपटी हुदो रहेछ, मलाई पनि त्यस्तै भयो । म उसलाई भेट्न छटपटाए ।
अघिल्लो रात च्याटमा उसले भेट्नलाई नाइ भन्दा भन्दै पनि मैले उसलाई बिहान कलेज पुर्याउने निर्णय गरिसकेको थिएँ, जिद्दीपन उसको भन्दा कम थिएन । बिहानै साढे पाँच बजे उठेँ, दाजु पल्लो खाटमा सुतिरहेको थियो । उठी हाल्यो भने कहाँ , कता भनेर सोध्ला भनेर बिस्तारै आवाज नगरी लुगा खोजेँ, आमाले तँलाइ सारै सुहाउँछ भन्ने गरेको रातो टीसर्ट लगाए, निलो जीन्स पाइन्ट अनि निलो ज्याकेट । थोरै परफ्युम पनि लगाए र आँफैलाई सुघेँ, मिठै बासना आउँछु भन्ने लागेपछि माथ्लो तलामा गएर मुख धोएँ , दाँत माजे अनि बाइक लिएर निक्लेँ उसको बस पर्खने स्टप ।
पाँच बजेर पचाँस मिनेट भएको थियो त्यहाँ पुग्दा । फोन गोजीबाट निकालेँ अनि उसको नम्बर डायल गरेँ, उसले फोन उठाँउदिन भन्ने डरले मनमा नारा लगाउँदै थियो । पाँच छ रिङ् पछि उसले फोन उठाइ, स्वर सुन्दा सुतिरहेकी छे जस्तो लाग्यो । म यहाँ बस स्टपमा बसिरहेको छु आउ है भने, उस्ले के खान यति चाँडो आएको भनेर गाली गरी, म केही भन्न सकिरहेको थिइनँ । म बोलिनँ । थोरै बेर रोकिएर ऊ आफैँले मेरो कलेज जाने टाइम साढे छ हो भनी, मैले पर्खन्छु भनेर फोन काटिदिएँ । पर्खन्छुु त भने अब चालीस मिनेट कसरी पर्खने भन्ने कुराले सतायो, बाइक साइड लगाए अनि बस स्टपको बेन्चमा बसेँ । हातमा मोबाइल लिएर ऊ आउने बाटो हेर्न थालेँ । प्रेमले धैर्यता खोज्छ भनेको सुनेको थिएँ, त्यही सम्झेर पर्खे । बस स्टप छेउबाट बाटो काट्दै गरेकी केटी ऊ जस्तै लाग्यो, अर्की बस चढ्दै गरेकी पनि ऊ जस्तै लाग्यो, एक छिन त डर पनि लाग्यो रिसाएकी छे , न बस चढेर गइ कि भनेर, मनलाई कस्तो कस्तो अनौठो लागिरहेको थियो, पहिलो पटक कसैलाई यसरी भेट्न लागेको थिएँ । भेट्दिनँ भन्दा भन्दै जबरजस्ती गरेर ।
उसले च्याट गर्दा कुनैदिन भनेकी थिइ, मलाई चोको पाइ मन पर्छ । समय काट्नु थियो त्यही किन्न बाटो छेउको एउटा पसलमा गएँ । एक प्याकेट चोको पाइ मागेँ बुढाले दुइटा मात्र छ भने । त्यती भए पनि ठीक छ भनेर त्यही बोकेर फेरी बेन्चमा आएर बसेँ । अरु पसल खोज्न जाँदा फेरी यता ऊ हिड्ली भन्ने डर थियो ।
समय भइ सकेको थियो ऊ अझ आइपुगेको थिइनँ । छटपटी भयो अनि फेरी कल गरेँ । फोन उठाएर आउँदैछु भनी अनि फोन काटी । मेरो पखाई देखेर हो कि , मलाई छ बजे देखि त्यहाँ बसेका अधबैसेले अनौठो मानेर हेरे ।, जे होस मैले अलिकति अफ्ठ्यारो मानेर हाँसीदिए उनी पनि मेरो मन राख्न हाँसीदिए । किन हो कुन्नी मलाई त्यो प्रतिक्षा मन परिरहेको थियो, प्रतिक्षामा यदि कोही आँउने आशा हुन्छ भने त्यो प्रतिक्षा पनि रुचिकर बन्दो रहेछ ।
यता उता हेर्दै थिएँ उसलाई आकाशे पूलबाट झर्दै गरेको देखेँ , सुन्तला रङ्गको टीसर्ट, निलो जीन्स, स्पोर्ट सुज अनि फुकेको कपाल, मलाई त्यती राम्री कोही हुन सक्छ जस्तै लागेन । मैले पर बाट हात हल्लाए उसले मलाई देखेर बिस्तारै म भए ठाँउ आइ । म सोचिहरेको थिएँ कि उसले केहि हेल्लो हाइ भन्नेछे तर उसले त एकाएक मेरो बस आँउदैछ म बसमै जान्छु तिमी घर जाउँ भनी । यो शब्दले म बौलाएझैँ भएँ, रीस पनि उठ्यो तर बिहान देखी पर्खेको छु बाहेक केही निस्केन मुखबाट । ऊ मलाई सम्झाउँन थाली , मैले तिमीलाई हिँजै भनेको थिएँ मलाई बाइकमा चढ्न डर लाग्छ भनेर । अनि मैले ज्याकेट पनि ल्याएको छैन, मास्क पनि छैन । मैले मास्क किनेर जाँउ भनेपछि उसले मेरो आँखामा हेरी तर मैले आँखा जुधाउनै सकिनँ, सकू पनि कसरी एक महिनै भएको थिएन मैले उसलाई भेट्ने बाचा गरेर उसलाई नमिठो धोका दिएको । पहिलो गाँसमै ढुङ्गा लाग्यो भने जस्तो भयो होला सायद उसलाई । उसले दिल दुखाउनु पनि जायज नै थियो । कुरा के भनेँ हाम्रो भर्खर लभ पर्ला जस्तो भएको थियो मैले भेटौँ न भनेर आफै अनुरोध गरेको थिएँ । अनि भेट्ने दिन आफैँ उसलाई खबर नदिइ अन्तै कतै गएको थिएँ । त्यो गैरजिम्मेवारीको हद थियो । साथीको भिजा लाग्यो एकाएक प्लान बन्यो । म हिँडे केटाहरुसँग डुल्नलाई । उसलाई खबर गरुँला सोचेको थिएँ । तर ढिलो भइगएछ , मोबाइलमा उसको केही मिसकल आइसकेको थियो । धेरै कल गर्दा पनि नउठेर उसले मलाई मोबाइलमा म्यासेज गरेकी थिइँ , अब आइन्दा मलाई म्यासेज पनि नगर्नु कल पनि नगर्नु । रिप्लाइ गरु भनेर केही लेखेर पठाएको थिएँ तर म ब्लक भइसकेको रहेछु । त्यस पछि लगभग पन्द्र दिन लगाएर बल्ल फकाए पछि आज भेट्न जुरेको थियो ।
केही बेर सोचे जस्तो गरेर उसले मेरो आँखामा हेरी । खै के भयो उसलाई बिस्तारै कुदाउँ है भनेर ऊ बाइकमा बसी, मैले पनि अरु दिन भन्दा बिस्तारै कुदाएँ । चाढो त म किन कुदाउथेँ र मलाई त ऊ सँग भरसक धेरै समय बिताउनु थियो ।अलि अगाडि पुगेपछि बाइक स्लो गर्न लगाई अनि ब्यागबाट निकालेर ज्याकेट लगाई, मलाई म सँगै जान्छु भनेर आएकी रहेछ भन्ने कुरा थाहा भयो । कस्तो बेग्लै खुसी लाग्यो । म सोचेभन्दा खुसी थिए कि एक महिनाको बिन्तीबाट उसलाई बल्ल बल्ल भेट्न जुरेको थियो । मलाई बाइक रोकेर बाटैमा मनका सबै कुराहरु भनिदिउँझैँ लाग्यो तर त्यसो गर्नु अभद्र हुन्थ्यो त्यसो पनि गर्न सकिन । म सँग ऊ यसरी बोली मानौ उसलाई मसँग केही गुनासो नै छैन, तर त्यही कुराले मलाई सबैभन्दा बिचलीत बनायो, म चाहन्थेँ ऊ म सँग रिसाओस् । ऊ खुसी देखिन्थी, चाँहन्थेँ त म उसको खुसी नै तर त्यो खुसीमा म किन हो रमाउँन सकिरहेको थिइनँ । म आफुलाई मुल्यहीन ठान्दै थिए । उसले के मलाई बिर्सिएदिएकै हो त ? या उसले मलाई गुनासो गर्न लायक पनि मान्दिनँ ? म आफैँलाई प्रश्न गरिरहेँ ।
उसको कलेज जाने नयाँ पानी ट्याङ्की बन्दै गरेको रहेछ उसले त्यो देखाउँदै भनी यो बनाउँन लागेको कति भइसक्यो अझैँ सकेको छैन , उसले आफ्नो कलेजको एकाध काहानी पनि सुनाई तर त्यस्तो खाल्टा खुल्टीको बाटोमा समेत एक पल्ट मलाई छोइन, मलाई लाग्यो ऊ एउटा धोकेबाजसँग फेरि नजिक नहुनलाई एकदम सजक छे । उसका गफ सुन्न मजा लागिरहेको थियो, एकमनले सुनिरहेको थिएँ । एकाएक उसले भनी मलाई यहीँ छोडिदेउ म यहाँ बाट हिडेर जान्छु । मैले उसलाई कलेज नै पुर्याउँछु भनेँ अनि केही पर, कलेजको गेटमा लगेर बाइक रोकेँ ।
ऊ बाइक बाट ओर्लेर मेरो अगाडि आई । मैले चिया खान जाउँ भन्ने प्रस्ताव राखेँ, उसले चिया मिठो छैन भनेर टारीदिइ । उसले भनि म अब जान्छु तिमी पनि जाउ । मलाई फर्कन मन त थिएन तै पनि गोजीको दुइटा चोको पाइ झिकेँ र उसलाई दिएँ । उसले चोको पाइ हातमा लिएर संसारको सबैभन्दा मिठो हाँसो हाँसी अनि मैले तिम्रो लागि केही पनि ल्याइनँ भनेर गुनासो पनि गरी । खै कहाँबाट आयो बोल्न , तिमी आयौ त्यही सबैभन्दा ठूलो कुरा हो मेरो लागि भन्न पुगेछु, थोरै हासेर ऊ कलेज तिर लागि, पछाडि फर्कन्छे जस्तो लागेको थियो फर्किनँ । नाम बोलाएँ उसले फर्केर हेरी । अनि सानो आवाजमा बाइ भन्दै हातले इशारा गरेँ ।त्यस पछि फेरि मैले उसलाई कहिले भेटिनँ । उसले माफ माग्छ भन्ने अपेक्षा गरेकी थिइँ सायद । म ग्लानीले यति साह्रो दबेछु कि मलाई माफ माग्ने पनि हिम्मत आएन । जे होस् मेरो सम्झनामा अझै पनि त्यो मुस्कान छापिएको छ जुन मैले उसको हातमा चोको पाइ राखिँदिँदा उसले हाँसेकी थिइ ।
मलाई कता कता अझैँ पनि बिश्वास छ सुन्तला रङ्गको टीसर्ट र निलो जिन्स लाएकी केटी , जसले मलाई आफ्नो कलेजको गेटमा अधुरो छाडेर गएकी थिई कुनै दिन मुस्काउँदै आउँनेछे मलाई पुरा गर्न । प्रेमले प्रतिक्षा माग्छ भन्छन् । म दिन तयार छु । जाँदा जाँदै उसले भनेकी थिइ मैले तिम्रो लागि केहि पनि ल्याइनँ । उसले प्रतिक्षा गर्ने तागत उपहार ल्याएकी रहिछे ।
बिजय लुइटेल

